काठमाडौं । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुदको म्याराथनमा स्वर्ण पदक जितेको छ । नेपाली धावक किरणसिंह बोगटीले नेपाललाई ४२ किलोमिटर म्याराथनमा स्वर्ण पदक जितेका हुन् ।

तेह्रौं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त शनिबार बिहान काठमाडौंको दशरथ रंगशालाबाट सुरु भएको ४२ किलोमिटर म्याराथन बोगटीले दुई घण्टा २१ मिनेट १७ सेकेण्डमा पुरा गरे ।

भारतीय धावक रास्पाल सिंहले उक्त दूरी पार गर्न दुइ घण्टा २१ मिनेट ५७ सेकेण्ड लगाए । उनले रजत पदक जिते । त्यसैगरी अर्का भारतीय धावक श्री सिंह दुई घण्टा २२ मिनेट ७ सेकेण्ड लगाएर तेस्रो हुँदै कास्य पदक जिते ।

नेपालकै अर्का धावक होमलाल श्रेष्ठले दुई घण्टा २४ मिनेट ३१ सेकेण्ड लगाएर चौथो भए ।
बोगटीले स्वर्ण पदक दिलाए पनि धावक वैकुण्ठ मानन्धरको कीर्तिमान भने भङ गर्न सकेनन् ।

मानन्धरले सन् १९८७ को सागमा ४२ किलोमिटरको म्याराथन मात्र दुई घण्टा १५ मिनेटर तीन सेकेण्डमा पुरा गरेर स्वर्ण जितेका थिए ।