काठमाडौं । आज विक्रम संवत् २०७६ साल मंसिर २२ गते आइतबार, ईश्वी संवत २०१९ डिसेम्बर ८ । नेपाल सम्बत ११४० थिंलाथ्वः, द्वादशी । आज मोक्षदा एकादशी व्रत गीता जयन्ती ।

अहिले परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत मार्गशीर्ष शुक्लपक्षको एकादशी तिथि बिहान ७ बजेर ३२ मिनेटसम्म रहयो । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा छन् भने बृहस्पति धनु राशिमा छन् । अश्विनी नक्षत्र राति ३ बजेर ३२ मिनेटसम्म रहनेछन् । यसैगरी आज वरियन योग र बब करण रहेको छ । आनन्दादिमा आनन्द योग रहेको छ ।

चन्द्रमा मेष राशिमा छन् । आज मोक्षदा एकादशीव्रत परेको छ । मार्गशीर्ष शुक्लपक्षको एकादशीलाई मोक्षदा भनिन्छ । यो दिन एकादशीको व्रत धारण गर्नाले मोक्ष प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यसैगरी आज गीताजयन्ती पनि हो ।

यो दिन तुलसीको मञ्जरी, धूप, दीप आदि वस्तुले दामोदर भगवानको पूजा शुभ रहन्छ । यसैगरी उपवास वसेर हरिको नाम संकीर्तन, पनि शुभ रहनेछ । मार्गशीर्ष शुक्ल एकादशीका दिन कुरुक्षेत्रमा भगवान् श्रीकृष्णले अर्जुनलाई श्रीमद्भगवद्गीताको उपदेश गर्नु भएको थियो । अतः यो तिथि गीता जयन्तीका नामले पनि चिनिन्छ । आज श्रीमद्भगवद्गीतापाठको अनुष्ठान शुभ रहन्छ । गीता कर्मयोग हो । जहाँ कर्मको गीत गाइएको छ ।