काठमाडौं । नेपाली समाजमा ’अलमण्ड’लाई मधेसी बदामको नामले चिनिन्छ । यो मध्यम रुखमा फल्ने फल हो । मधेसी बदामलाई चिनियँ बदाम पनि भनिन्छ । मधेसी बदाममा फाइबरको मात्रा बढी हुनुका साथै भिटामिन ई, म्याग्नेसियम, सिलिनियम, क्याल्सियमजस्ता मिनरल भरपुर मात्रामा पाइन्छन्।

मधेसी बदाममा पिसाब खुलाउने, पेट सफा गर्ने, शरीरलाई पोषण दिने, दुखाई कम गर्ने, नशालाई सक्रिय राख्ने र शरीरको भित्री भाग सुन्निएको वा चिलाएर दुखेको निको पार्ने क्षमता हुन्छ । दिनहुँ यसको प्रयोगले आँखाको समस्या निको पार्न मद्धत गर्छ ।

यसमा भिटामिन ई को मात्रा धेरै हुन्छ । मानिसको शरीरले सबै भिटामिन आफै उत्पादन गर्न सक्दैन् । मधेसी बदाममा पाइने म्याग्नेसियमले मेटाबोलिक सिन्ड्रोम, उच्च रक्तचाप, शरीरको तौल घटाउने, शरीरमा उत्पन्न भएका अनावश्यक बोसोलाई हटाएर मधुमेहजस्ता रोगको निराकरण गर्न मद्धत गर्दछ ।

दैनिकरुपमा दुईदेखि तीनवटा बदाम खाने बानी गर्ने हो भने मुटु सम्बन्धी रोग, ब्लड सुगर आदिको लागि फाइदा गर्छ । सुत्केरी महिलालाई बदामले अझै धेरै फाइदा गर्छ । अधिकांश महिलाले गर्भावस्थामा बदाम खाने गर्छन् ।

जन्मिने शीशुमा देखिने धेरै किसिमका रोग विरुद्ध लड्ने क्षमता प्रदान गर्छ । बदाममा पाइने फोलिक एसिडले शिशुलाई गर्भमा रहँदा र जन्म भएपछि पनि रोगबाट बचाउँछ । साथै छालासम्बन्धी रोगजस्तै अनुहारमा चाउरी पर्ने, जिउ चिलाउने जस्ता रोगहरु कम गर्न मद्धत गर्दछ । यसको दैनिक प्रयोगले अनुहार चम्किलो, नरम बनाउँछ ।

बदामको सेवनले क्यान्सर जस्तो प्राणघातक रोगको खतराबाट समेत बचाउने अनुसन्धानमा खुलेको छ । यसमा पाइने फाइटेस्टोरेल नाम गरेको तत्वले ट्युमर नियन्त्रण गर्ने काम गर्द छ ।