काठमाडौं । विपद जोखिम व्यवस्थापनमा लैङ्गिक उत्तरदायित्व अपरिहार्य रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । यस सम्बन्धमा काम गर्ने चार वटा संस्थाले संयुक्त रुपमा आयोजना गरेको ‘लैङ्गिक यत्तरदायी विपद जोखिम व्यवस्थापनका लागि संचारकर्मीसँगको अन्र्तक्रिया’का सहभागिले यस्तो जोड दिएका हुन् ।

अन्र्तक्रियामा सहभागि सञ्चारकर्मीले विपद जोखिम व्यवस्थापनको विषयलाई सञ्चारमाध्यमले एउटा बिट अर्थात् विधा नै बनाउन सक्नेमा जोड दिए । त्यो भित्र पनि लैङ्गिक उत्तरदायित्व तथा समावेशीकरणलाई केन्द्रविन्दु बनाउन सकिने मुद्दाबारे कार्यक्रममा लामै छलफल भयो ।

नेपाल रेडक्रस सोसाइटीको विपद व्यवस्थापन विभागबाट प्रतिनिधित्व गरेका शेखर रेग्मी र मनोज थोकर तामाङले विपद व्यवस्थापनमा देखिएका चुनौती र सञ्चारमाध्यमले उठान गर्नु पर्ने विषय एवं सूचना सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीसँग सम्बन्धित रही कार्यपत्र प्रस्तुत गरे । जहाँ नेपालको संविधानले गरेको मूल संकल्प र विपद जोखिम व्यवस्थापनका लागि बनाइएका ऐन नियमबारे सञ्चारकर्मीलाई जानकारी दिइयो । आयोजकका अनुसार कार्यक्रमको मूल उद्देश्य पत्रकारले विपदबारे समाचार सामाग्री प्रकाशन प्रसारण गर्दा लैङ्गिक उत्तरदायित्व एवं समावेशीकरणलाई सँधै केन्द्रमा राख्नुपर्ने जानकारी दिनु हो ।

विपद पूर्वको तयारी, विपद ताका र विपद पछिको अवस्थाबारे समाचार सामाग्री सम्प्रेषण गर्दा त्यसलाई कसरी लैङ्गिक समावेशीकरणका दृष्टिबाट पस्किन सकिन्छ भन्नेबारे कार्यक्रममा वृहद छलफल भयो । राहत वितरणको विषयलाई उदारहण मान्दै गोरखा भूकम्पपछिको राहत वितरणमा घरमा पुरुष हुनेले चार पल्ट पनि राहत रामग्री पाएको र महिला, निमुखा एवं शारीरिक असक्तता भएका व्यक्तिहरु बञ्चित भएको देखिएका कारण अब राहत वितरणमा पनि लैङ्गिक समावेशीकरणलाई ध्यान दिइनुपर्नेमा सहभागिहरु एकमत भए ।

ललितपुरको झम्सिखेलमा भएको कार्यक्रम मिडिया एड्भोकेसी ग्रुप, महिलामैत्री विपद व्यवस्थापन समूह, आईओएम युएन माईग्रेसन र युएन अमेनले संयुक्त रुपमा आयोजना गरेका हुन् ।