काठमाडौं । विहिबार एकैदिन धान्य पूर्णिमा, यःमरि पुन्हि, ज्यापु दिवस र उधौली पर्व मनाइँदै छ । हरेक वर्षको मार्ग शीर्ष शुक्ल पूर्णिमाका दिन यी पर्व तथा दिवस मनाउने गरिन्छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन सनातन हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, योमरी पूर्णिमा (यःमरि पुन्हि), कुलपूजा, गैडुपूजा, उधौली तथा ज्यापू दिवस मनाउँछन् । यो पल्ट १६औँ ज्यापु दिवस मनाइँदैछ । विशेष गरी धान्यपूर्णिमा पर्वलाई ब्राह्मण, क्षत्री, किरात र नेवारी समुदायले आ–आफ्नै तरिकाले मनाउने गरेका छन्।

गाउँघरमा गाईवस्तुको रक्षाका लागि गोठमा गैडु देवताको पूजा गर्ने चलन छ भने विभिन्न जातिले आफ्ना कुल पूजास्वरूप देवाली पूजा पनि यही पूर्णिमाका दिन गर्ने परम्परा छ ।

नेवार समुदायमा महत्वपूर्ण मानिने योमरी पूर्णिमा बिहीबार धुमधामसाथ मनाउन लागिएको हो । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन बुधबार बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ गरी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । यस अवसरमा तुलाधर, बज्राचार्य, मानन्धर, ज्यापुलगायत नेवार समुदायले बिहानै योमरी विशेष मन्त्रोचरणका साथ नित्यपूजा गर्दै सबै प्रकारका देवीदेवताको पूजा गर्नेछन् ।

पूर्णिमाको अघिल्लो दिनको साँझबाटै घरघर पुगेर नाचगान गर्ने परम्परा छ । ज्यापु समुदायले पनि आफ्नो घरमा रहेको धानले भरिएको भकारीमा योमरी राखी पूजा गर्ने परम्परा छ । धान रोपेर अन्न फलाई सकेर भकारी भरेपछि धानलगायतका अन्नको कमी नहोस् भनेर योमरी बनाएर पुजा गरि भकारीमा राख्ने चलन छ । भकारीमा पूजा गरेपछि छोरी चेली र आफन्त बोलाई योमरी खुवाउने गरिन्छ ।

धनका देवता मानिने भगवान कुबेर मगन्तेको भेषमा एउटा घरमा खानेकुरा माग्न गएका थिए । त्यो योमरी पूर्णिमाको दिन थियो । घरबेटीले कुवेरलाई सन्तुष्ट हुने गरी योमरी खुवाए । भगवान् कुवेरले खुसी हुँदै ‘घरमा लक्ष्मीले बास गरून् र धनधान्य होस्’ भनेर आशीर्वाद दिएको पौराणिक कथा छ । यसकारण, यो दिनलाई धान्यपूर्णिमा पनि भनिन्छ । इष्टमित्र र छरछिमेकलाई योमारी खुवाउने चलन छ । नाचगान गर्दै घरघर पुगेर योमरी माग्ने चलन पनि छ ।

ज्यापु दिवस
उपत्यका र आसपासका नेवार समुदायले योमरी पूर्णिमाको दिनलाई केही वर्षदेखि ज्यापु दिवसका रूपमा मनाउँदै आएका छन् । ज्यापु दिवसको अवसरमा काठमाडौंमा विभिन्न झाँकिहरु निस्किने गर्दछन् । यो पल्ट पनि वसन्तपुर डबलीमा मौलिक बाजागाजा, वेशभूषासहितका झाँकी देखाउने कार्यक्रम छ ।

उधौली पर्व 
किराँत समुदायले विहीबारै उँधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खा, सुनुवार, लिम्बू, राईलगायत जातिले आफ्नो मौलिक परम्पराअनुसार यो पर्वमा आ–आफ्ना इष्ट देवताको पूजापाठ गरी मीठा खानेकुरा खाँदै र शुभकामना दिँदै नाचगान गर्ने गरेका छन् ।

किराँतीले उँधौली र उँभौलीमा प्रकृति र पितृको पूजा गर्छन् । मंसिरे पूर्णिमाबाट जाडो सुरु हुने भएकाले लेकका चराचुरुंगी र खोलाका माछा बेंसी झर्ने भएकाले यो पर्वलाई उँधौली भनिएको हो, वैशाखे पूर्णिमाबाट चराचुरुंगी र माछा लेकतिर लाग्ने गरेकाले त्यतिबेला उँभौली मनाइन्छ ।

नयाँ अन्नबालीमा कीराफट्यांग्रा नलागोस्, बाढी–पहिरो नजाओस्, सबैमा खुसियाली छाओस्जस्ता कामना गरेर उभौली मनाइन्छ भने उधौलीमा बालीनाली राम्ररी भित्र्याउन सकेकामा र सन्तानको रक्षा गरेकामा प्रकृतिलाई कृतज्ञता अर्पण गरिन्छ ।

किराँती समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र आपूmले खाने दिनलाई चाडका रूपमा मनाउँछन् । यस पर्वको अवसरमा ढोल, झ्याम्टा र च्याबरुङ बजाएर गोलाकार भएर महिला र पुरुषहरू नाच्ने परम्परा छ । मंसिर पूर्णिमाको दिनदेखि सुरु हुने उँधौली पर्व किराँत समुदायले
१५ दिनसम्म मनाउँछन् ।

धान्य पूर्णिमा
धानको विधिपूर्वक पूजाआजा एवं दान गरी बिहीबार धान्य पूर्णिमा पर्व पनि मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने, त्यसबाट पीठो पिँधेर सेल, बाबर र पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।