बारा । पूर्वी तराईमा पनि चिसो बढेको छ । चिसो बढेसँगै सिमरा विमानस्थल दुई दिनदेखि बन्द छ भने कतिपय स्थानीय पालिकाले विद्यालयमा छुट्टी दिनुका साथै सर्वसाधारणलाई आगोको व्यवस्था गर्न सुरु गरेका छन्।

चिसो बढेर सर्वसाधारणलाई दैनिकी काट्न कठिनाई भएको भन्दै कलैया उपमहानगरपालिकाले शुक्रबारदेखि आगोको व्यवस्था गरेको छ। कलैया उपमहानगरपालिका, बारा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सर्वसाधारण भेला हुने विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरेका हुन्। सर्वसाधारणको बढी भिड हुने कलैया अस्पताल, भरत चोक, लोहारपट्टीलगायत स्थानमा आगोको व्यवस्था गरिएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले बताए।

जिल्ला सदरमुकाम पनि भएकाले कलैयामा ग्रामीण भेगबाट आउने सेवाग्राहीहरू चिसोले गर्दा धेरैै समस्यामा पर्ने गरेका कारणले आगोको व्यवस्था गरिएको यादवको भनाइ छ। केही दिनदेखि बढेको चिसोका कारणले कलैया बजारमा मानिसहरूको उपस्थिति कम देखिएको छ भने सरकारी कार्यालय आउने सेवाग्राहीको संख्या पनि घटेको छ। स्थानीयलाई आगोको व्यवस्थापन गर्ने काममा बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल र प्रहरी उपरीक्षक विकासराज खनालले पनि समन्वय र सहयोग गरिरहेका छन्।

बाराको निजगढ नगरपालिकाले पनि सर्वसाधारणका लागि आगोको व्यवस्था गरेको छ। ‘चिसो ह्वात्तै बढेपछि नगर क्षेत्रका विभिन्न स्थानमा स्थानीय नागरिकलाई आगो ताप्ने व्यवस्था मिलाएको नगरपालिका प्रमुख सुरेशकुमार खनालले बताए।

चिसो बढेपछि कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका र देवताल गाउँपालिकाले सामुदायिक विद्यालयहरू बन्द गरेका छन्। साना विद्यार्थीलाई चिसोबाट हुने रोग लाग्ने सम्भावना बढेकाले त्यसबाट बचाउन केही दिन विद्यालय बन्द गर्नुपरेको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बताए।

सिमरा विमानस्थलबाट उडान गर्दै आएका विमानहरू शीतलहर र हुस्सुले गर्दा दुई दिनदेखि ठप्प रहेका छन्। सो विमानस्थलबाट दैनिक सातदेखि १३ वटासम्म विमानहरू उडान गर्दै आए पनि बिहीबार र शुक्रबार एउटा पनि विमान उड्न नसकेको नागरिक उड्यन प्रधिकरण सिमराले जनाएको छ। शीतलहर र हुस्सुका कारणले गर्दा भिजिबिलिटी न्यून भएपछि दुई दिनदेखि सबै विमानहरूको उडान स्थगित गरिएको विमानस्थलका प्रमुख वसन्त गौतमले बताए।