काठमाडौं । आज विक्रम संवत् २०७६ साल पुस ६ गते आइतवार, ईश्वी संवत २०१९ डिसेम्बर २२ । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषकृष्णपक्षकोे सफला एकादशी तिथि दिउँसो ३ बजेर ३१ मिनेटसम्म रहनेछ ।

यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । स्वाती नक्षत्र बेलुका ७ बजेर २० मिनेटसम्म रहनेछ । यसैगरी आज विष्कुम्भादिमा अतिगण्ड योग, आन्दादिमा लुम्ब योग र कौलव करण रहेका छन् ।

आज सफला एकादशीव्रत परेको छ । पौष कृष्णपक्षको एकादशीलाई सफलता भनिन्छ । आज गरिएको एकादशीको व्रत धारणले कार्यमा सफलता प्राप्त हुने गर्दछ ।

सफला एकादशी महिमा
पद्मपुराणमा युधिष्ठिर र श्रीकृष्णभगवान्को सम्वादका क्रममा सफला एकादशीको व्रत महिमा गान गरिएको छ । यसै क्रममा युधिष्ठिरले भगवान् कृष्णचन्द्रसँग सफला एकादशीको महिमा बताउन आग्रह गरेपछि श्रीकृष्ण भगवानले बताएको कथा स्मरणीय छ ।

सफला एकादशीको व्रत उत्तम मध्येको एक हो । सफलला एकादशीको व्रत धारणले वर्षदिनसम्म गरिएको तपस्या बराबरको फल प्राप्त हुने गर्दछ । दशमी तिथिकै दिनदेखि शुद्ध र सात्विक आहार एक छाक मात्र ग्रहण व्रतको विधान बताइएको छ । एकादशीका दिन यस दिन आचरणमा पनि ख्याल राख्नुपर्छ र सात्विक व्यवहार पनि गर्नु पर्दछ । व्रत लिने व्यक्तिले भोगविलास एवं कामनाको भावनालाई त्याग्न सक्नुपर्दछ ।

एकादशी तिथिका दिन प्रातः स्नान गरेर शुद्ध वस्त्र धारण गरी पूजासामग्री सम्पादन पश्चात् लक्ष्मी नारायण भगवान्को पूजा आराधना गर्नुपर्दछ । दिनभर भगवान्का कथाश्रवण लाभदायी रहनेछन् । द्वादशीका दिन भगवानको पूजा आजा गरी ब्राह्मणभोजन गराउनुपर्दछ । सोपश्चात् आफूलेभोजन ग्रहण गर्नाले सफला एकादशीको व्रत पूर्ण हुने गर्दछ ।

एकादशीको व्रत अत्यन्त भक्ति र श्रद्धाले युक्त भई लिनुपर्छ । भनी भक्तवत्सल श्रीकृष्ण भगवाने युधिष्ठिरलाई पद्मपुराणमा बताएका छन् । द्वादशीयुक्त पौष कृष्ण एकादशीको माहात्म्य विशेष रहेको छ । यस एकादशीका देवता श्रीनारायण हुन् ।