काठमाडौं । आज विक्रम संवत् २०७६ साल पुस ८ गते मंगलबार, ईश्वी संवत २०१९ डिसेम्बर, २४ । अहिले परिधावी संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषकृष्णपक्षकोे त्रयोदशी तिथि दिउँसो १२ बजेर १६ मिनेटसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् ।

सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । अनुराधा नक्षत्र बेलुकी ५ बजेर ३२ मिनेटसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा शूलम् योग, आन्दादिमा वज्र योग र भद्रा करण रहेको छ ।

चन्द्रमा वृश्चिक राशिमा रहनेछन् । चन्द्रमाका हिसाबले आज उत्तर र पश्चिम दिशाको यात्रा शुभ रहनेछ । यसैगरी आज दिउँसो १२ बजेर १६ मिनेटदेखि राति ११ बजेर ४१ मिनेटसम्म भद्रा रहनेछ । आज मंगलवार गणेशजीको उपासना गर्ने उत्तम दिन हो । मंगल ग्रहजन्य दोष निवारणका निम्ति पनि गणेशजीको उपासना शुभ रहने गर्दछ । मंगलवारका दिन गणेशजीमा दुवो अर्पण गर्नाले मनोवाञ्छित फल प्राप्त हुने कुरा गणेशपुराणमा बताइएको छ । लड्डु एवं दुवोको अर्पण गणशजीका निम्ति प्रसन्न रहने गर्दछ । त्यसैले आज गणेशजीलाई दुवो एवं लड्डु अर्पणका साथै गणेशअथर्वशीर्ष पाठ पनि शुभ रहनेछ ।

यसैगरी आज पवनपुत्र हनुमानजीको उपासना पनि लाभदायी रहनेछ । यसैले, आज हनुमानजीको पूजा आराधनाका साथै हनुमान चालिसा पाठ पनि शुभ फलदायी रहनेछ ।