चरीकोट (दोलखा) । किबी जोनका रूपमा परिचित हिमाली जिल्ला दोलखामा यस वर्ष करिब तीन सय मेट्रिक टन किबी फलेको छ । प्रतिकिलो एक सय मूल्य हुँदा पनि यो उत्पादन तीन करोड रहेको छ ।
किबी जोन परियोजनाअन्तर्गतका भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, गौरीशङ्कर, बिगु, कालिञ्चोक र शैलुङ गाउँपालिकाका २२ वडाका दुई सय हेक्टर जमिनमा उक्त परिमाणमा किबी उत्पादन भएको हो ।
अघिल्लो वर्ष १८५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष झण्डै दोब्बरले किबी उत्पादन बढेको छ । उत्पादित किबी स्थानीय बजारमा आधा र बाँकी काठमाडौँको बजारमा बिक्री गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दोलखाअन्तर्गत किबी जोनका वरिष्ठ कृषि अधिकृत मोहनप्रसाद खतिवडाले मोन्टी जातका ६० प्रतिशत, एलिसन जातका ३० प्रतिशत, हेवार्ड जातका ५ प्रतिशत र अन्य ५ प्रतिशत किबी उत्पादन भएको जानकारी दिए ।
विशेष गरी कात्तिक र मङ्सिरमा टिप्नुपर्ने किबी टिपेको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्ने हुन्छ । त्यसैले पनि दोलखाका ठूलादेखि साना बजारमा अहिले किबी फल पाउन सकिन्छ ।
बिग्रने डरले एकैपटक बजारमा किबी ल्याउनुपर्ने भएपछि किबीको भाउ नपाएको भीमेश्वर नगरपालिका–६ का किसान बलराम थापाले गुनासो तर लामो समय किबी बिक्री नभएर बिग्रेको अवस्था भने छैन ।
अहिले किसानले बोटबाटै प्रतिकेजी १५० किबी बेचिरहेका छन् भने दोलखाको स्थानीय बजारमा ग्रेडअनुसार प्रतिकेजी १८० देखि दुई सय रुपियाँसम्ममा बिक्री हुने गरेको छ ।
किबी जोन सञ्चालक समितिका संयोजक उषा थापाले किसानको समस्यालाई ध्यानमा राख्दै भीमेश्वर नगरपालिका–८, बोचमा किबी कोल्डस्टोर बन्दै गरेकाले अर्को वर्षदेखि किबी किसानलाई राहत मिल्ने बताईन् ।
अब किबीबाट स्थानीयस्तरमै जाम, जेली, वाइन र क्यान्डी उद्योग स्थापनाका लागि अनुदान दिने कार्यक्रम रहेको जनाईएको छ ।