काठमाडौं । येशुको जन्मोत्सवमा मनाईने (क्रिसमस डे) विश्वभर मनाइँदै छ । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।

आजभन्दा २०१९ वर्षअघि इजरेलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले राजानकारी दिए । क्रिश्चियन धर्मका प्रणेता जिससको जन्म दिनको अवसरमा दुई हजार १९ वर्षअघिदेखि यो पर्व मनाउन थालिएको हो । उनकै सम्झनामा इस्वी सम्वत सुरु भएको विश्वास गरिन्छ ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ । नेपालमा चार सय वर्ष अघिबाटै क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीको जिकिर छ ।

हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको उनले जनाए । हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसकोे अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ ।

साथै महासंघले ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना दिएको छ । क्रिसमसको अवसरमा नेपालका पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल, पोखरा लगायतका ठाउँमा रौनक छ ।

क्रिश्चियन धर्मावलम्बीले क्रिसमस सुरु हुनु साताअघिदेखि नै ‘क्रिसमस ट्री’ बनाएर घर, पसलमा सजाउने गर्छन् । साँझपख घरघरमा दीपावलीसमेत गरिन्छ । पश्चिमा देशमा क्रिसमसका अवसरमा लामो बिदा दिइन्छ । नेपालमा समेत पछिल्ला वर्ष २५ डिसेम्बरमा बिदा दिने गरिएको छ । यद्यपि, अघिल्लो वर्षदेखि सार्वजनिक विदा भने कटौती गरिएको छ । र, राजपत्रमै क्रिश्चियन धमावबलम्बीलाई मात्र यो दिन विदा दिने भनिएको छ । २०६३ सालमा तत्कालीन व्यवस्थापिका संसद् बैठकले’ नेपाललाई धर्म निरपेक्ष राष्ट्र’ घोषणा गरेपछि यो पर्वले अझ व्यापकता पाएको हो ।