काठमाडौं । करीना कपूर खान बलिउडमा प्रवेश गरेको २० वर्ष भैसकेको छ । यो बीचमा उनले एकसेएक उम्दा फिल्म दर्शकमाझ ल्याइसकेकी छन् । सन् २००० मा फिल्म ‘रिफ्यूजी’बाट बलिउडमा डेब्यू गरेकी उनको जीवन अहिले सफलताको उत्कर्षमा छ । २० वर्ष लामो फिल्म जीवनमा उनले कुनै फिल्मका लागि अडिसन दिएकी थिइनन् । उनलाई आफैं फिल्मको अफर मिल्दै गयो ।

तर, उनले पहिलो पटक अभिनेता आमिर खानसँग काम गर्नका लागि अडिसन दिएकी छन् । हाल छायांकनरत फिल्म ‘लाल सिंह चड्ढा’का लागि उनले अडिसन दिएकी थिइन् । एक अन्तर्वार्तामा उनले यो कुराको खुलासा गरिन् । उनले अडिसन दिएको ‘लाल सिंह चड्ढा’ आफ्नो करिअरको पहिलो फिल्म रहेको बताइन् । योसँगै उनी स्क्रीनिङ प्रक्रियाबाट समेथ गुज्रिनु परेको थियो ।

उनले भनिन्, ‘यो मेरो करिअरको एकमात्र यस्तो फिल्म हो, जसका लागि मैले अडिसन दिएँ । म आमिरभन्दा बाहेक यस्तो कुनै पनि फिल्म र कुनै पनि व्यक्तिका लागि गर्दिनँ ।’ यसअघि उनले आमिरसँग सुपरहिट फिल्म ‘थ्री इडिएट्स’ र ‘तसाल’ मा काम गरेकी थिइन् । दुईको अनस्क्रिन जोडीलाई दर्शकले निकै रुचाएका छन् । करीनाको नयाँ ‘गूड न्यूज’ शुक्रबार प्रदर्शन हुँदैछ ।

फिल्म ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । ओरिजिनल फिल्ममा मुख्य पात्र फरेस्टको दिमाग कम काम गर्छ । तर पनि उसले सफलता प्राप्त गर्छ र ऐतिहासिक पुरुष बन्छ । तर, उसलाई प्रेमिकाले छाडेर जान्छिन् । यसको हिन्दी रिमेकमा आमिर र करीनासँगै साउथका सुपरस्टार विजय सेतुपतिको पनि अभिनय रहने बताइएको छ ।