काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताईन् ।

“आज मध्याह्नसम्म देशैँभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ”, मौसमविद् शाक्यले भनिन् । बेलुकापखबाट मौसम क्रमिक सुधार हुने जनाइएको छ ।

राति देशका मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार देशका पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

आइतबार देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा हुने सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १३ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम डडेल्धुराकोे न्यूनतम तापक्रम माइनस शून्य दशमलव एक डिग्री सेल्सियसमा झरेको छ ।