काठमाडौं । मछिन्द्र फुटबल क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रको साँघुरो जितमा विशाल राईले निर्णायक गोल गरे । खेलको ३१औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । जावलाखेलविरुद्ध बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले थप गोल गर्न सकेन । मछिन्द्रले पाएको थप अवसरलाई गोलमा परिणत गर्न सकेन ।

पहिलो हाफको ४०औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बा अग्रता दोब्बर बनाउन चुके । डिबक्स भित्रबाट उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । यस्तै, खेलको ८७औं मिनेटमा कर्नरमा आएको बललाई सुजल श्रेष्ठले हेडबाट पोस्टको दिशा दिन सकेनन् ।

जावलाखेलले पनि केहि गोलको अवसर बनाएको थियो । २४औं मिनेटमा हरि कठायतको सशक्त प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको खुट्टामा लाग्दै बाहिरिएको थियो ।

जितसँगै मछिन्द्रले ६ खेलमा १३ अंक जोडेको छ । र, मछिन्द्रले अपराजित यात्रा कायम राखेको छ । जितपछि मछिन्द्र त्रिभुवन आर्मी क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

मछिन्द्रसँग पराजित भएसँगै जावलाखेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिगमा जावलाखेलको यो पहिलो हार हो । जावलाखेलको ६ खेलमा ९ अंक रहेको छ । जावलाखेल पाँचौं स्थानमा रहेको छ ।