नयाँदिल्ली । भारतले २०२० को अन्त्यतिर हुने ‘सांघाइ सहयोग संघठन शिखर सम्मेलन’ का लागि पाकिस्तानी प्रधानमन्त्रीलाई निमन्त्रण गर्ने भएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निम्ता गर्ने जानकारी दिएका हुन् । यस वर्ष हुने शिखर सम्मेलनको आयोजक भारत हो । जस अनुसार सबै आठ सदस्य, चार पर्यवेक्षक र अन्य अन्तर्रा्ष्ट्रिय संवाद साझेदारलाई पनि निम्ता गरिनेछ ।

बिहीबार नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै रविस कुमारले यस्तो जानकारी दिएका हुन् । चीन नेतृत्वको सांघाइ सहयोग शिखर सम्मेलनमा भारत र पाकिस्तान २०१७ देखि सदस्य राष्ट्र बनेका हुन् । चीन नेतृत्वको आर्थिक र सुरक्षा ‘ब्लक’ को सम्मेलनको आगामी आयोजक भारत बनेको हो ।

उक्त सम्मेलन आगामी अक्टोबरमा आयोजना हुने बताइएको छ । तर पाकिस्तानी प्रधानमन्त्री सम्मेलनमा सहभागी हुने वा नहुने इस्लामाबादले नै निर्णय गर्नेछ । यसअघि सम्मेलनमा सरकार प्रमुख वा परराष्ट्रमन्त्री सहभागी हुने गरेका थिए । यदी उक्त सम्मेलनमा सहभागी भएको खण्डमा प्रधानमन्त्रीको रुपमा उनको पहिलो भारत भ्रमण हुनेछ ।