काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीले लगातार दोस्रो पटक मनमोहन मेमोरियल (एमएम)कप एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ ।

सुनसरीको इनरुवामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ८५ रनले हराउँदै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले ४ लाख ५ हजार नगद पुरस्कार पाएको छ । उपविजेता पुलिसले २ लाख ५ हजार प्राप्त गरेको छ ।

इनरुवा रंगशालामा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस २४ ओभर ४ बलमा अलआउट हुँदै ९९ रनमा समेटियो ।

पुलिसका कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । यस्तै अमित श्रेष्ठले २३ रन जोड्दा अनिल साहले २१ रन बनाए । आर्मीका सुशन भारीले ४ विकेट लिए । साहब आलमले ३ र कुशल मल्लले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८४ रन बनाएको थियो । आर्मीको लागि कप्तान बिनोद भण्डारीले ४० रन बनाए । यस्तै राजेश पुलामीले ३१ रन जोड्दा राजु रिजालले २२ रन बनाए ।

बिक्रम शोबले १५ तथा कुशल मल्लले १३ रन बनाए । पुलिसका सागर ढकाल, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान ३–३ विकेट लिए ।