काठमाडौँ । यस वर्षको हिउँदे पर्वतारोहणका लागि पर्यटन विभागले आरोहण अनुमति खुला गरेको छ । विभागका अनुसार अनुमति खुला भएपछि हालसम्म विभिन्न चारओटा हिमालका लागि पर्वतारोहीले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन् । त्यसमध्ये दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक रहेको विभागले जानकारी दिएको छ ।

सगरमाथाबाहेक नुप्त्से, आमादब्लम र रोक्पाइ हिमालका लागि विभागले अनुमति जारी गरिसकेको छ । नुप्त्सेका लागि पाँच जना, आमादब्लमका लागि १५ जना र रोक्पाइ हिमालका लागि दुई जनाले अनुमति लिएको विभागले जनाएको छ ।
यसरी अहिलेसम्म विभिन्न पाँचओटा टोलीका २७ जनाले अनुमति लिइसकेको विभागले जानकारी दिएको छ । अहिलेसम्म अनुमति लिनेमा सबै पुरुष छन् । कुल अनुमति लिनेमा २३ जना स्पेन, दुई जना जर्मनी र एक-एक जना संयुक्त राज्य अमेरिका र चीनका नागरिक छन् ।

आरोहण अनुमतिबाट विभागले अहिलेसम्म १६ लाख ८२ हजार रुपियाँ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ । त्यसमध्ये १५ लाख १३ हजार रुपियाँ मात्रै सगरमाथा आरोहण अनुमतिबाट प्राप्त छ । हिउँले सिजनमा आरोहण अनुमतिका लागि लिइने रोयल्टी वसन्तयामको तुलनामा कम हुन्छ ।