काठमाडौं । प्रधानमन्त्री केपी ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सकिएको छ ।

छलफलमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने विषयमा टुंगो लागेको जनाइएको छ ।

उपसभामुख तुम्बाहाङ्फेले केही बेर पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिनेबारे जानकारी दिने बताइएको छ ।

यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गर्दै आएकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने भन्दै उनले राजीनामा नदिने बताउँदै आएकी थिइन् ।

आइतबार सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उपसभामखुले राजीनामा दिने भएकी हुन् ।

अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने जनाएको छ । त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्य राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।