काठमाडौं । गोरखामा ‘ठगी’ गरेर पाँच वर्षदेखि सम्पर्कविहीन ध्रुबबाबु जोशी ललितपुरको एक चर्चबाट पक्राउ परे। महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेका उनीविरूद्ध एकपछि अर्को ठगीका मुद्दा परेका छन्। जवरजस्ती करणी अभियोगमा जाहेरी परेपछि जोशीलाई प्रहरीले चर्चबाटै पक्राउ गरेको थियो।

गोरखा बजारका स्थायी बासिन्दा जोशी पहिले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको राजनीतिक संरक्षणमा महेन्द्रज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष थिए । २०६९ सालमा विद्यालयमा शौचालय निर्माण गर्न लिएको पेश्की रकम उनले अझै फिर्ता नगरेको बताइन्छ ।

विद्यालयका प्रधानाध्यापक भाइकाजी श्रेष्ठ समिति अध्यक्ष जोशीले शौचालय निर्माण गर्न दुई लाख चार हजार रूपैयाँ पेश्की लिएर गएको तर शौचालय नबनाएको बताउँछन् । जोशीको नाममा अहिले पनि बक्यौता बाँकी नै छ।

विद्यालयछेउ गोरखा नगरपालिका –६ छहरे घर भएका जोशीमाथि यसअघि आफ्नै सालीमाथि यौन दुराचारको पनि आरोप लागेको थियो। जोशीले पार्टी प्यालेससहित रेष्टुरेन्ट चलाइरहेको घरमा झुण्डिएर सालीले आत्महत्या गरेकी थिइन्।

यौन दुराचारबाट गर्भवती भएकाले सालीले आत्महत्या गरेको आरोप लागेपछि जोशी पक्राउ परे। २०७१ सालमा जिल्ला प्रहरी कार्यालय गोरखाले जोशीलाई पक्राउ गर्‍यो। तर, कारबाही प्रक्रिया अघि बढेन। प्रहरीबाट छुटेपछि जोशी गोरखा बजारमा देखिएनन्।

गएको हप्ता जोशीलाई ललितपुर प्रहरीले कुसुन्तीस्थित चर्चबाटै पक्राउ गर्‍यो। गोरखाबाट सम्पर्कविहीन जोशीले श्रीमतीकै नाममा आशा विश्वासी मण्डली चर्च चलाएर आफू पास्टर बनी बसेका बताइएको छ ।

पुस २७ गते एक महिलाले आफूमाथि पटक–पटक पास्टर जोशीले जवरजस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि भोलिपल्ट जोशी पक्राउ परे। महानगरीय प्रहरी परिसर जावलाखेलमा एक महिलाले दिएको जाहेरीपत्रमा आशाविश्वासी मण्डली चर्चका पास्टर जोशीले तीन महिनादेखि पटक–पटक जवरजस्ती करणी गरेको उल्लेख छ।

२१ वर्षकी एक बाथ र खुट्टा काम्ने रोगबाट पीडित महिलामाथि जोशीले जवरजस्ती करणी गरेको आरोप छ। ‘तीन महिना पहिले, पहिलोपटक ललितपुरको चापागाउँको एक गेष्ट हाउसमा बोलाएर ढोका बन्द गरी मेरो इच्छा विपरीत पास्टर जोशीले जवरजस्ती करणी गरे। दोस्रो र तेस्रोपटक नख्खीपोटस्थित आफ्नै पसलमा धाकधम्की दिएर जवरजस्ती करणी गरे’, ती महिलाले जोशीविरूद्ध दिएको जाहेरीमा भनेकी छन्।

दश वर्षदेखि क्रिश्चियन धर्ममा लागेकी ती महिला रोगले च्याप्दै गएपछि समस्यामा थिइन्। पास्टर जोशीले रोग निको पारिदिने आश्वासनमा पटक–पटक जवरजस्ती करणी गरेको ती महिलाको आरोप छ। जोशीले ती महिलासँग शारीरिक सम्पर्क गर्न अनेक बाहना बनाए ।

‘तिमीले सानो बच्चा अवस्थामा धेरैसँग शारीरिक सम्पर्क गरेको रहेछौं। तिमीले गरेको पाप मेटाउनका लागि तिमीले म सँग शारीरिक सम्पर्क गर्नुपर्छ। म प्रार्थना बस्दा परमेश्वरले मलाई यस्तो भन्नुभएको, ती महिलाले भनेकी छन्, ‘तिमीले म सँग शारीरिक सम्पर्क गर्नुपर्छ। त्यसो गरे तिमीले गरेको पाप नाश भएर जान्छ भनेर मलाई पास्टरले ललाईफकार्इ विश्वासमा लिई जवरजस्ती करणी गरेको हो।’

पास्टर जोशीले शारीरिक सम्पर्क गरेको कुरा कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश भएर जाने घुर्की समेत लगाएको ती महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छन्।

‘शारीरिक सम्पर्क गरेको कुरा कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश भएर जान्छ। जे पनि गर्न सक्छु म भन्ने धाकधम्की दियो। परिवार र साथीभाइलाई मसँग शारीरिक सम्पर्क गरेको कुरा भनिदिन्छु भनेर पसलमै आएर जवरजस्ती गरे,’ ती महिलाले भनेकी छन्।

रोग निको हुने नाममा पास्टरले जवरजस्ती जारी राखेपछि ती महिलाले न्यायका लागि प्रहरीको ढोका ढक्ढक्याएकी हुन्। महानगरीय प्रहरी परिसर ललितपुरकी प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले जोशीविरूद्ध म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिएकी छन् । अब उनलाई अदालतमा पेश गर्ने तयारी छ’ सिंहले अगाडि भनिन्, ‘जोशीविरूद्ध परिसरमा ठगीका उजुरी पनि परेका छन्।’