बैतडी । डिलासैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । वुधबार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरेको हो ।

यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी भएको छ । नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै गाउँपालिका–३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरको मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ ।

पालकै से १ च ४५९ नम्बरको जेसीबीमा पनि आगजनी गरिएको छ । आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ । घटनाबारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ । डिलासैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो ।

राज्य पुनःस्थापना हुँदा गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा–३ बाट हुँदै आएको छ । नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयवासीको आरोप रहेको छ । डिलासैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत छ ।