काठमाडौं। काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार भएको छ । उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ इशान’ र ‘काठमाडौँ आग्नेय’, ललितपुरमा प्रस्तावित स्मार्ट सिटी ‘काठमाडौँ नैऋत्य’, काठमाडौँको उत्तरी क्षेत्रमा प्रस्ताव गरिएको स्मार्ट सिटी ‘काठमाडौँ उत्तर’को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार भएको हो ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले प्रस्तावित चारवटै स्मार्ट सिटीको ‘डीपीआर’ भइसकेको जानकारी दिए । तिवारीले सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष मङ्गलबार ‘डीपीआर’बारे प्रस्तुतीकरण दिए । तिवारीका अनुसार प्रस्तुतिपछि मन्त्री बाँस्कोटाले स्मार्ट सिटी आयोजनालाई तीव्रता दिन निर्देशन दिए ।

‘अब ‘डीपीआर’लाई सहरी विकास मन्त्रीको अध्यक्षतामा रहेको भौतिक विकास समितिमा पेस गरिनेछ, त्यहाँबाट अनुमोदन भइसकेपछि डीपीआर पुनः सहरी मन्त्रालयमा आउँछ र अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिनेछ, प्राधिकरण प्र्रमुख तिवारीले मन्त्रिपरिषद्को स्वीकृतिपछि राजपत्रमा सूचना प्रकाशित गरी जग्गा अधिग्रहणको काम सुरु हुन्छ, आयोजना तीव्र गतिमा अगाडि बढ्छ, भने ।

भौतिक विकास समितिको सदस्यमा राष्ट्रिय योजना आयोगका सचिव, बाग्मती प्रदेशका भौतिकमन्त्री र विभिन्न ११ वटा सङ्घीय मन्त्रालयका सचिव, काठमाडौँ, ललितपुर र भक्तपुर महानगरपालिकाका नगरप्रमुख तथा काठमाडौँ उपत्यकाका अन्य नगरपालिका मध्येबाट सहरी मन्त्रालयले तोकेका तीनवटा नगरपालिकाका नगरप्रमुख छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख यस समितिका सदस्यसचिव छन् ।
प्राधिकरण प्रमुख तिवारीले मन्त्रिपरिषद्को स्वीकृति भएमा यो आर्थिक वर्ष भित्रमा नै यस आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चित गर्ने बताए । सरकारले जमानी बसेको अवस्थामा यो स्मार्ट सिटी निर्माण गर्न चिनियाँ, कोरियन र अमेरिकन कम्पनी लगानी गर्न तयार रहेको उनले जानकारी दिए ।

सबैभन्दा ठूला स्मार्ट सिटीका लागि ग्लोबल बोलपत्र आह्वान गर्नुपर्छ भने बाँकी तीन सिटीका लागि राष्ट्रिय कम्पनीले निर्माणको जिम्मा पाउने गरी बोलपत्र आह्वान गरिने प्राधिकरणले जनाएको छ ।

भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म (पूर्व–उत्तर) ‘काठमाडौँ इशान’ स्मार्ट सिटी निर्माण गर्ने प्रस्ताव गरिएको छ । तिवारीले त्यसैगरी भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म (पूर्व–दक्षिण’ ‘काठमाडौँ आग्नेय’, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म (दक्षिण–पश्चिम) ‘काठमाडौँ नैऋत्य’ र काठमाडौँको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको छ भन्नुभयो ।

‘काठमाडौँ इशान’ को डीपीआर निर्माण फिनल्यान्डको हेलेन एन्ड कम्पनी र जेके एसोसिएट्स (जेभी)ले गरेको हो । त्यसैगरी ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ नैऋत्य’ को डीपीआर नेपाली कम्पनी इएमआरसी र फुलब्राइट कन्सल्टेन्सीले गरेको थियो भने ‘काठमाडौँ उत्तर’ को डीपीआर नेपाली कम्पनी टेक कन्सल्ट्यान्टले गरेको हो । ‘काठमाडौँ इशान’ को १० करोड र अन्यको दुई÷दुई करोड रुपियाँ लागतमा डीपीआर निर्माण गरिएको हो ।

डीपीआर अनुसार सबभन्दा ठूलो स्मार्ट सिटी ‘काठमाडौँ इशान’ को कुल निर्माण लागत चार खर्ब रुपियाँ हुनेछ भने अन्य तीनवटाको कुल निर्माण लागत ४०–४० अर्ब रुपियाँ प्रस्ताव गरिएको छ । त्यसैगरी काम सुरु भएको मितिले ठूलो स्मार्ट सिटीको निर्माण अवधि पाँच वर्ष र बाँकीको तीन वर्षको हुनेछ ।

सबभन्दा ठूलो स्मार्ट सिटीका रूपमा प्रस्तावित ‘काठमाडौँ इशान’को क्षेत्रफल एक लाख रोपनीको र बाँकी तीनवटाको क्षेत्रफल दस÷दस हजार रोपनीको हुनेछ । यस सिटीभित्र एक लाख रोपनीमध्ये करिब ५४ हजार रोपनीमा मात्र ‘ल्यान्ड पुलिङ’ मार्फत जग्गा अधिग्रहण गरी सहरको ‘प्लानिङ’ गरिनेछ । कतिपय भागमा वन जङ्गल रहेको छ भने विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर र पुराना बस्ती बोडे र ठिमी यसै स्मार्ट सिटी अन्तर्गत पर्नेछन् ।

त्यसैगरी प्रस्तावित स्मार्ट सिटीको कुल क्षेत्रफलको २० प्रतिशतमा सडक पूर्वाधार, १० प्रतिशतमा अन्य पूर्वाधार निर्माण तथा सिटीको कुल क्षेत्रफलको पाँच प्रतिशत खुला ठाउँ रहने प्राधिकरणले जनाएको छ ।

२०७४ वैशाख २४ गते काठमाडौँ उपत्यका विकास प्राधिकरणको बसेको बैठकले काठमाडौँ उपत्यकामा चारवटा स्मार्ट सिटी बनाउने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७२/७३ को बजेट वक्तव्य मार्फत पहिलोपटक ‘स्मार्ट सिटी’ निर्माण गर्ने अवधारणा सार्वजनिक गरिएको थियो । बजेटमा काठमाडौँ उपत्यका, लुम्बिनी र निजगढमा एक÷एकवटा ‘स्मार्ट सिटी’ निर्माणका लागि गुरुयोजना तयार पार्ने उल्लेख गरिएको थियो ।

के हो स्मार्ट सिटी ?

व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक शहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ । नागरिकको जीवनस्तर तथा शहरको अर्थतन्त्रमा सुधार ‘स्मार्ट सिटी’ को प्रमुख लक्ष्य हुने गर्छ ।

त्यसैगरी, प्रविधि साक्षर जनसङ्ख्या, प्रविधिसँग जोडिएका व्यवसाय गर्न प्रोत्साहन गर्ने अर्थव्यवस्था, सफा तथा वातावरणमैत्री सर्वशुलभ यातायात साधनको व्यवस्था, नवीकरणीय ऊर्जा प्रयोग, प्रविधियुक्त स्वास्थ्य सेवाको विकास स्मार्ट सिटीका प्रमुख विशेषता हुन् ।