काठमाडौं । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै शनिबार काठमाडौंमा कचौरा जुलुस निस्किएको छ। ‘पश्चिम सेतीका लागि काठमाडौंमा कचौरा’को नारा दिएर युवाले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

यो प्रदर्शन बोलन्या थली धनगढीको अगुवाईमा भएको हो । आफूहरु आयोजनाका लागि कचौरा लिएर माग्न बसेको बोलन्या थली धजगढीका संयोजक यादव जोशीले बताए । उनले भने, ‘आयोजना बन्ने आशमा अजनजीविकासँग जोडिएको काम पनि गर्न नपाउने, आयोजना पनि नबन्ने अवस्था बन्यो । यो तत्काल अन्त्य गर्नुपर्छ । यही हो हाम्रो माग ।’

सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो । तर, लामो समय आयोजना ओगटेर बसेको उसले क्षमता घटाएर पनि बनाउन मन गरेन । बाँधस्थल प्रस्तावित स्थानको भू–गर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेतीबाट चिनियाँ कम्पनी बाहिरयो । अहिले एसआर–६ समेत बनाउने गरी पश्चिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको बताइँदै छ ।