देउखुरी, दाङ । लोपउन्मुख कुसुण्डा भाषाको पूर्ण वक्ता मानिएकी ज्ञानीमैया कुसुण्डाको शनिवार निधन भएको छ । लमही नगरपालिका–६ कुलमोहरस्थित आफ्नै घरमा उनको निधन भएको हो । उनको मृत्युपछि यो भाषा थप संकटमा पर्ने भाषाविज्ञ तथा सरोकारवालाले चिन्ता जनाएका छन् ।

‘म मरेपछि यो भाषा पनि मर्छ, बचाउनुपर्छ भनेर खुबै लाग्नु हुन्थ्यो’, कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदय आलेले भने, ‘उहाँको दुःखद निधन भयो । अव यो भाषालाई बचाउन झनै समस्या पर्नेछ ।’ उहाँको निधनले कुसुण्डाको पहिचानमा अपूर्णीय क्षती पुगेको गैर कुसुण्डा आलेले बताए ।

अनुसन्धानकर्ता आलेका अनुसार ज्ञानीमैयाले आफ्नो घरको पेटीमा समेत कुसुन्डा भाषाको कक्षा चलाउँथिइन् । साना बालबालिकादेखि भाषा सिक्न चाहने जो कसैलाई पनि उनले सहजै भाषा सिकाउन थाल्थिन् । भाषाको अध्ययन गर्न आउनेहरू महिनौंसम्म बसेर जान्थे । उनकै आधारमा भाषा आयोगले विशेष कक्षा समेत चलाउन सम्भव भयो ।

लोपन्मुख कुसुन्डा भाषाको संरक्षणमा ज्ञानीमैयाको ठूलो योग्दान छ । सरकारले उनलाई प्रमुख भाषा स्रोत व्यक्ती मानेर नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्ने कार्यक्रम सञ्चालन गरेको आलेको भनाइ छ । भाषा आयोगले ज्ञानीमायालाई भाषिकवृद्धि स्वरुप मासिक तीन हजार रुपैयाँ उपलब्ध गराउदै आएको थियो ।

यस्तै, भाषा आयोगले उनलाई श्रोत व्यक्ति मानेर दुई चरणको कसुन्डा भाषा कक्षा पनि संचालन गरेको थियो । लामो समयदेखि कुसुन्डा भाषाको संरक्षणमा क्रियाशील ज्ञानीमैया बिरामी हुँदा कुसुन्डा भाषामै बर्बराउने गर्थिन् । उनका एक छोरा र दुई छोरी छन् । छोरा प्रेमको ६ वर्षअघि करेन्ट लागेर मृत्यु भयो । छोरीको विवाह भैसकेको छ । बिरामी पर्दा छोरी ज्वाई भेट्न र उपचारको लागी खटिए । उनी बुहारी र नाति नातिनाका साथ बस्दै आएकी थिइन् ।

दशैंमा आफूभन्दा ठूलो मान्नेजन नभएकाले आफ्नै नातिनीको हातबाट दशैको टीका समेत लगाईन्, उनले। बाल्यकालको जीवन जंगलमा बिताएकी ज्ञानीमैयाले आमाबुवाबाट सिकेको कुसुण्डा भाषालाई अहिलेसम्म बचाएर राखेकी थिईन् । कुसुण्डा जातिको जंगली जीवनको समाप्तिसँगै भाषा संस्कृति पनि संकटमा परेको छ ।

अब कुसुन्डा भाषा बोल्न जान्ने उनकी बहिनी नाता पर्ने कमला कुसुन्डा मात्रै जीवित छिन् । ज्ञानीमैया र कमला भेट हुदा कुसुन्डा भाषामा दोहोरो कुराकानी गर्थे । अब कमलासंग दोहोरो कुराकानी गर्ने मान्छे नै छैन । कमलालाई भाषिक कुराहरु जनाकारी भए पनि ज्ञानीमैयाँमा जस्तो पूर्ण सीप र ज्ञान नभएको कुसुन्डा भाषाको शब्दकोष प्रकाशन गरेका आलेले बताए ।

आलेका दाबीमा नेपालको जनगणना २०६८ अनुसार नेपालभर दुई सय ७३ जना कुसुन्डा रहेको उल्लेख छ । स्थलगत अध्ययनको क्रममा हाल जम्मा एकसय ५४ जना मात्रै रहेको आलेले जानकारी दिए । दाङमा कुसुन्डा जातीको संख्या ७५ रहेको छ । कुसुन्डा जाती दाङसहित तनहुँ, कपिलवस्तु, गोरखा, अर्घाखाँची, प्युठान, रोल्पा, सुर्खेतमा बसोबास गर्छन् ।

ज्ञानीमायाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी पुगेपछि मात्रै अन्त्येष्ठि गरिने उनका नातेदारले बताएका छन् । पुस २८ गते आगो फुक्ने क्रममा एक्कासि चक्कर लागेर लडेपछि ज्ञानीमैया बिरामी परेकी थिईन् । उनलाई उपचारका लागि लमही हुँदै मेडिकल कलेज कोहलपुर लगिएको थियो । त्यहाँ पनि स्वास्थ्यमा सुधार आएन । घर ल्याएर पुनः फ्लोरेन्स अस्पतालमा भर्ना गरिएको थियो । तर, उनलाई निको भएन। मस्तिस्कमा ‘डिजेनेरेटिभ चेन्जेज’ अर्थात उमेर बढ्दै जाँदा मस्तिस्कका सेलहरु नष्ट हुँदै जाने र दमको समस्या रहेको उपचारमा संलग्न फ्लोरेन्स अस्पताल लमहीका डाक्टर पुष्प भूषालले जानकारी दिए ।