काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदमा सापकोटाको मात्र उम्मेदवारी परेकाले आइतवार बसेको प्रतिनिधि सभा बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरे । गएको असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार आरोप लागेपछि राजीनामा दिएसँगै सभामुखको निर्वाचन गर्नु परेको हो । चुनावी अंक गणितले पनि सापकोटा नै विजयी हुने अवस्था थियो । त्यही देखेर प्रमुख विपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएन । कांग्रेस संसदीय दलकोतर्फबाट आइतबार सांसद मिनेन्द्र रिजालले कांग्रेसले उम्मेदवारी नदिने निर्णय लिएको जानकारी सदनलाई दिए ।

यो सभामुख चयनमा पनि निकै ठूूलो माथापच्छी भयो । सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच सहमति हुन नसकेपछि झन्डै चार महिनासम्म प्रतिनिधिसभाका लागि नयाँ सभामुखको चयन नै हुन सकेन। उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेका कारण सभामुख चयन लम्बिएको भन्दै नेकपाभित्रै आलोचना भयो । तर, तुम्बाहाम्फेले नेकपाले सभामुखको उम्मेदवार चयन नगरेसम्म राजीनामा नदिने अडान राखेपछि अन्तिममा पार्टीले सापकोटालाई अघि सारेको हो । सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढेपछि मात्रै उपसभामुख शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिईन् । गएको आइतबार मात्र नेकपाको सचिवालय बैठकले सापकोटालाई सभामुख उठाउने निर्णय गरेको हो । नेकपाका अध्यक्ष प्रचण्डको विशेष जोडबलमा सापकोटा सभामुखमा सिफारिस भएका हुन् ।

संसद् सचिवालयले प्रकाशित गरेको कार्यतालिकाअनुसार सापकोटाले गएको माघ ७ गते सभामुखका लागि उम्मेदवारी दर्ता गराएका थिए । कांग्रेसलगायत अन्य कुनै पार्टीको उम्मेदवारी नपरेपछि सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भए । संसद्को हिउँदे अधिवेशन पुस ४ गते सुरु भए पनि सभामुख नहुँदा एजेण्डामा प्रवेश गर्न सकेको थिएन ।