काठमाडौँ । विमानस्थलमा प्रहरीसँग झगडा गरेपछि विवादमा परेकी गायिका आस्था राउतलाई काठमाडौं प्रशासनले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। सोमवार आफै प्रहरीमा आत्मसमर्पण गर्न पुगेकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्ने अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय पुगेको प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन् ।

प्रहरीले सरकारी वकिलमार्फत राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो। सरकारी वकिलले पाँच दिन थुनामा राख्ने अनुमति मागेकोमा आफूले चार दिनको समय दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप राउतमाथि छ। श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

राउत आइतवार आफैं अभिभावकसँग महानगरीय प्रहरी परिसर पुगेकी राउतलाई स्वाथ्य परीक्षण पछि प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगेको हो ।