काठमाडौं । श्रीलंकाका सुरुवाती व्याट्सम्यान उपुल थरंगाले ललितपुर प्याट्रियट्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)क्रिकेट खेल्ने भएका छन् ।

श्रीलंकाको राष्ट्रिय टोली खेलाडी थरंगाले साविक विजेता ललितपुर प्याट्रियट्सबाट ईपीएल खेल्ने भएका हुन् । ललितपुरका प्रशिक्षक राजु बस्न्यातले थरंगाले क्लबबाट खेल्ने पक्का भएको बताएका छन् ।

उनले भने, ‘उपुलले टिमबाट खेल्ने पक्का भएको छ । अब हामी २३ गते सबै खेलाडीबारे सार्वजनिक गर्ने छौँ ।’ यस्तै बस्न्यातले अन्य विदेशी खेलाडीसँग पनि क्लबले छलफल गरिरहेको बताएका छन् ।

आक्रामक ब्याट्सम्यान तथा विकेटकिपर ३४ वर्षीय थरंगाले श्रीलंकाको लागि ३१ टेष्ट, २ सय ३५ एकदिवसीय र २६ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

यस्तै ललितपुरले सोमबार प्रेस विज्ञप्ति निकाल्दै थरंगाले खेल्ने पक्का भएको जनाएको छ । यसअघि भैरहवा ग्लाडीयटर्सले वेष्ट इण्डिजका ड्वेन स्मिथलाई अनुबन्ध गरिसकेको छ । ईपीएलको चौथो संस्करण चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुँदैछ ।