काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथविरुद्ध शानदार जित निकालेको छ । त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिवार भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४–० गोलको फराकिलो जित निकालेको हो ।

थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । यस्तै एक गोल लाल राम्मव्राले एक गोल गरे । सरस्वतीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारले दोस्रो हाफमा चार गोल गरेको हो ।

भारतीय खेलाडी लाल राम्मव्राले खेलको ४९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५७औं मिनेटमा सन्जोगले गोल गर्दै थ्री स्टारलाई २–० को अग्रता दिलाए । खेलको ६०औं मिनेटमा सन्जोगले व्यक्तिगत दोस्रो गोल गर्दा थ्री स्टार ३–० ले अघि रह्यो । त्यसपछि खेलको ७१औं मिनेटमा गोल गर्दै सन्जोगले ह्याट्रिक पुरा गरे ।

यससँगै सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै सन्जोग २०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

सन्जोग म्यान अफ दि म्याच समेत चुनिए । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्री स्टारले १० खेलमा १७ अंक जोडेको छ। पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ ।