एजेन्सी । चीनले अमेरिका सहयोग गर्नु पर्ने बेलामा कोरोना भाइरसबारे ‘त्रास’ फैलाइरहेको आरोप लगाएको छ । सबै चिनियाँ यात्रुमाथि प्रतिबन्ध लगाएर अमेरिकाले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप चीनले लगाएको हो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले सोमवार नियमित पत्रकार सम्मेलनमा, ‘अमेरिकाले खासै महत्वपूर्ण सहयोग गरेको छैन। उसले केवल ‘त्रास’ मात्रै फैलाइरहेको छ’ भनिन् ।

अमेरिकाले शुक्रवार स्वास्थ्य संकटकाल घोषणा गर्दै पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रोक लगायो । अमेरिकी प्रतिबन्ध आफ्नै नागरिकमाथि पनि लाग्ने भनिएको छ । कोरोना भाइरसको उद्गमस्थल रहेको हुबेईबाट फर्कने अमेरिकी नागरिकले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमै बस्नु पर्नेछ । सोमवारसम्म अमेरिकामा ११ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । वुहानबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वका २७ मुलुकमा फैलिइसकेको छ।

यसअघि चीनले अमेरिकी व्यापार सचिव विल्बर रोसको अभिव्यक्तिको कडा आलोचना गरेको थियो। रोसले कोरोना भाइरसका कारण अमेरिकामा थप रोजगार सिर्जना हुने विवादास्पद अभिव्यक्ति दिएका थिए। अमेरिकीले दुःखद घडीमा सहयोग गर्नुको साटो गलत उदाहरण स्थापना गरेको कुरा चीनले बताइरहेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरिसकेको छ। अहिलेसम्म कोरोना भाइरसका कारण ३६२ जनाको मृत्यु भएको छ । त्यस्तै १७ हजारभन्दा बढीमा यसको संक्रमण भएको बताइँदै छ ।