काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मानिसको अत्यधिक भीड हुने काठमाडौँ उपत्यकाका तीन स्थानमा अत्याधुनिक सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

शौचालय निर्माणका लागि काठमाडौँ महानगरपालिकासँग स्थानको माग गरिए पनि निर्माणमा लाग्ने सम्पूर्ण खर्च भने सङ्घले नै व्यहोर्ने छ ।

चार स्थानमा निर्माण गर्ने लक्ष्य रहे पनि पहिलो चरणमा कलङ्की र कोटेश्वरमा शौचालय निर्माण गरिने छ । ती दुई स्थानका लागि आगामी हप्ता बोलपत्र आह्वान गर्ने तयारी छ । त्यसैगरी सङ्घले चाबहिलमा चाहे पनि निर्माणका लागि कामपाले स्वीकृति दिएको छैन ।

महाराजगञ्जमा भने दोस्रो चरणमा निर्माण गरिने एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिए । अध्यक्ष पन्तले भने, ‘निर्माण गर्न लागिएका सबै शौचालयहरु लैङ्गिकमैत्री, शारीरिक अपाङ्गमैत्री र बालबालिकाले समेत सहज प्रयोग गर्न सक्ने खालका हुन्छन् ।’

अध्यक्ष पन्तका अनुसार एउटा शौचालय निर्माणका लागि ६५ लाख लाग्ने छ । एउटा शौचालय निर्माणका लागि तीन महिना लाग्ने अनुमान गरिएको छ । बढीमा आगामी आठ महिनामा सर्वसाधारणले राम्रो शौचालय प्रयोग गर्न पाउनेछन् ।

शौचालय निर्माणपछि व्यवस्थापनको जिम्मा भने कुनै एक कम्पनीलाई दिने निर्णय भएको एनआरएनका सहायक कार्यक्रम अधिकृत कुनाल मिश्रले जानकारी दिए ।

राजधानी काठमाडौँ सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा पानी अभाव हुँदा अत्यन्तै फोहर र दुर्ग्न्धित छ । प्रायः शौचालयहरुमा हात धुन साबुन पनि राखिएको पाइँदैन । सबैले प्रयोग गर्न नसक्ने हुनाले अत्याधुनिक शौचालय निर्माण गर्न लागिएको कार्यक्रम अधिकृत मिश्रले बताए ।

एक पटकमा बढीमा सात जनासम्मले प्रयोग गर्न सक्ने गरी निर्माण गर्न लागिएको उक्त शौचालय प्रयोग गर्नका लागि न्यून शुल्क लाग्ने भए पनि कति भन्ने विषयमा निर्माणपछि मात्र निश्चित हुने जनाइएको छ ।