लमजुङ । बलियाले निर्धालाई कतिसम्म चेप्छन् भन्ने कुराको उदाहरणका लागि लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनालाई लिए पुग्छ । पहिले आयोजना प्रभावितलाई चिन्दिन भन्थ्यो, प्रर्वद्धक कम्पनी ‘हिमाल पावर पाटनर’ । तर, अहिले आयोजना प्रभावितको अधिग्रहण नगरेकै जग्गामा मनाेमानी गरिरहेकाे छ ।

र, याे पल्ट चटक के देखाईयो भने, आयोजनाले अधिग्रहण गरेको जग्गाको क्षेत्रफल निकालेर पीडितको मिचिएको जग्गा देखाउन नापीबाट लगिएको अमिनले पीडितको जग्गा नापेर विवाद समाधान भयो भन्दै एकलौटी फिल्ड रिपोर्ट बनाएर हिँडे ।

यहाँनेर प्रमुख जिल्ला अधिकारीलाई समेत गुमराहमा राखेको देखिएको छ । सम्बन्धित पीडितले समेत कसको जग्गा नापेको भन्ने कुरा पछि थाहा पाए । नापीबाट आयोजनास्थलमा खटिएका थिए, सुरेस भण्डारी । उनले समेत आयोजनाका मान्छे र वडा अध्यक्षले जसोजसो भन्यो त्यसो त्यसै गरेर हिँडेछन् ।
पीडितले केही दिन पहिले प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्कालाई भेटेर आफुहरुको समस्या समाधानका लागि पहल गरिदन भन्दै अनुरोध गरेका थिए ।

त्यही शीलशीलामा प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर नापीका अमिन आयोजनास्थल पुगे । तर, उनले उल्टोकाम गरेर हिँडे। आयोजनाको जग्गा नाप्नु पर्ने ठाउँमा पीडित जग्गा नापेर विवाद सकियो भनेर हिँडेछन् ।

जग्गा मिचिएका एक पीडितले पोष्टदैनिकसँग भने, ‘हामीले हाम्रो अधिग्रहण नगरेको जग्गासहित पूरै क्षेत्रफल खोजेका थियौँ । तर, त्यसो भएन । ठ्याक्कै उल्टो भयो । जनप्रतिनिधिले पनि आयोजनातिरै कुरा ताने । दोर्दी गाउँपालिकाका अध्यक्षले पनि कुरै नबुझि उनीहरुले बनाएको कागजमा हस्ताक्षर गरे । तर, हामीले गरेका छैनौँ । हामी उसै परे अदालती प्रक्रियामा जान्छाैँ।’

बेसीशहर नगरपालिकाबाट सम्बन्धित वडाका जनप्रतिनिधि हुन्, अच्युतबाबु बगाले । तर, उनी साह्रै अफ्ठयारा र टर्रा मान्छे । पीडितलाई नै तथानाम भनेर हिँडे । आफुहरुले असहमति राख्दा राख्दै बगाले विवाद मिलिसक्यो अब काम रोक्न पाइँदैन भन्दै जबरजस्ती गरेर हिँडेको पीडितले बताएका छन् ।

आफ्नो जग्गा नाप्न ल्याइएका अमिनले हाम्रो जग्गा नापेर गयो, एक पीडितले भने, ‘हामीले काठमाडौंबाट ल्याएको अमिनले डिजिटल प्रविधिबाट नाप्दा दुई दाजु भाइकाे साढे ३ आना जग्गा मिचिएको देखिएको थियो । अहिले आएको सरकारी अमिनले मेरै जग्गा नापेर त्यतिकै तपाईको जग्गा पुग्यो भनेर हिँड्यो ।’

४२ सालमा गरिएको नापीपछि दोर्दी खोलाले थुप्रै जग्गा कटान गरेको छ । तर, अहिले आएर आफुहरुले अधिग्रहणका लागि दिएको भन्दा बढी जग्गा हाईड्रोले मिचेको पीडितको भनाई छ ।

र, अर्को छक्क पार्ने कुरा त के भने दुई दाजुभाईको साढे ३ आना जग्गा मिचिएको छिनोफानो नै नगरी फिल्ड मुचुल्का तयार भयो र जनप्रतिनिधि तथा नापीबाट खटिएका अमिनसहितले हस्ताक्षर गरेर हिँडे । आफुहरुको कुरै नसुनी एकलौटी मुचुल्का तयार पारेकाले आफुहरु अब फेरि संघर्ष गर्ने पीडितहरुले बताएका छन् ।

यी पनि पढाैँ,

हाइड्रो प्रभावितका दुःख : आयोजना प्रमुखलाई व्यूँझाउन सीडीओलाई चिठ्ठी

‘मर्स्याङ्दी कोरिडोर’प्रभावितले किन गुहारे ‘मानव अधिकार’ ?

आयोजना प्रभावित फेरि आन्दोलित, दोर्दीको काम ठप्प

अब त प्रभावितलाई चिन्दिन भन्न थाल्यो दोर्दी खोला जलविद्युत आयोजना