काठमाडौं । सरस्वती यूथ क्लब घटुवा भएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमवार १२औं चरणको खेलमा च्यासल युथसँग २–१ गोल अन्तरले हारेसँगै सरस्वती ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो ।

नेपाली फुटबलको शीर्ष डिभिजनमा रहिरहन जित्नै पर्ने खेलमा हारेपछि सरस्वती लिगको एक खेल बाँकी छँदै घटुवामा परेको हो । सरस्वतीबाहेक अन्य टोली अब घटुवा हुने छैनन् । अखिल नेपाल फुटबल संघ एन्फाले यस पटक १४ टोलीमा एक टोली मात्र घटुवा हुने भनेको थियो ।

सरस्वती दोस्रो पटक घटुवामा परेको हो । २०६३ सालमा पहिलो पटक ‘ए’ डिभिजन लिग खेलेको सरस्वती त्यही वर्ष ‘बी’ डिभिजनमा घटुवा भएको थियो । सरस्वती २०६८ यता भने लगातार ए डिभिजन लिग खेलिरहेको छ ।

यस्तै, एन्फा कम्प्लेक्स सातदोबाटोमा च्यासललाई जित दिलाउन जापानी खेलाडीद्वय ताइगा नाकामुरा र हायातो वाकिनोले एक–एक गोल गरे । सरस्वतीका काजिम बुसारीले एक गोल फर्काए ।

च्यासलसँगको हारसँगै सरस्वतीले १२ खेलमा ४ अंक जोड्यो । लिगको अन्तिम खेल जितेपनि सरस्वतीले पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफलाई पछि पार्न सकेन ।

एपीएफको ८ अंक रहेको छ । एपीएफले सोमवार भएको खेलमा फ्रेन्ड्सलाई ५–२ गोल अन्तरले हराएको थियो । अब सरस्वतीले लिगको अन्तिम खेलमा संकटासँग खेल्नेछ । सरस्वतीलाई हराएसँगै च्यासल भने १५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।