काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग –२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वुधवार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको हो ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गरिदियो । यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो लक्ष्य पूरा गर्दै कीर्तिमानी जित निकालेको छ । विश्वमा भने यो तेस्रो सर्वाधिक छिटो जित हो ।

नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए । अमेरिकाका केन्जिगेले २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो ।

अमेरिकाले बनाएको यो स्कोर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोरको बराबर हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने खराब कीर्तिमान बनाएको थियो ।

यस्तै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा विपक्षीलाई सबैभन्दा कम बलमा अलआउट गर्ने कीर्तिमान पनि बनाएको छ । अमेरिकालाई ७२ बलमा अलआउट गरेर नेपालले कीर्तिमान रचेको हो ।

अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दीप लामिछाने एक्लैले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली खेलाडी बने । यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए । अमेरिकामाथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ ।

ओमानसँग दुई खेलमा पराजित गरेको नेपालले अमेरिकालाई भने दुई खेलमा पराजित गरेको हो । पहिलो भेटमा अमेरिकालाई नेपालले ३५ रनले हराएको थियो । ओमानसँग भने नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । ओमानले चार खेल जितेर श्रृंखला क्लिन स्विप गरेको छ ।

दुई जितसँगै नेपालले लिगको ४ खेलमा ४ अंक जोडेको छ । नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ । अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।