काठमाडौं । राष्ट्रिय फुटबल टोलीको अग्रपंक्तिका खेलाडी विमल घर्तीमगर मछिन्द्र क्लबमा आवद्ध भएका छन् । ए डिभिजन लिगको अन्तिम चरणको खेल अगाडि मछिन्द्रले राष्ट्रिय फुटबल टोलीका विमललाई क्लबमा भित्र्याएको हो । यद्यपि, अखिल नेपाल फुटबल संघ एन्फाले बिमलमाथिको प्रतिबन्ध बिहीबार मात्रै सकिँदैछ ।

राष्ट्रिय टोलीबाट विश्वकप छनोटको खेल खेल्न भुटान उड्नु अघिल्लो रात नाईट क्लबमा भेटिएपछि विमलसहित राष्ट्रिय टोलीका चार खेलाडी एन्फाको कारबाहीमा परेका हुन् । विमलसहित अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ एन्फाको कारबाहीमा परे । अन्जन र सन्तोषलाई ४५ दिन फुटबल खेल्न प्रतिबन्ध लाग्यो भने विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लाग्यो ।

विमल ९० दिनको प्रतिबन्धको कारबाही भोगेर फुटबलमा फर्किन लागेको हुन् । अन्जन र सन्तोष क्लब फुटबलमा फर्किसकेका छन् । सन्तोषको प्रेरणादायी प्रर्दशनमा आर्मी लिग च्याम्पियन बन्ने संघारमा पुगेको छ । एन्फाको अनुशासन कमिटीले मंसिर २७ गतेदेखि लागु हुने गरी विमलसहितका खेलाडीलाई कारबाही गरेको हो । क्लब र खेलाडीको अपिलका आधारमा घटना भएको दिन कात्तिक ३० गतेलाई आधार बनाएर प्रतिबन्धको समय घटाईएको थियो ।

ए डिभिजनको अन्तिम खेलमा विमल देखिने
विमल ए डिभिजनको अन्मित खेलमा मछिन्द्रको जर्सीमा मैदान उत्रने भएका छन् । ‘‘विमललाई क्लबमा आबद्व गरेका छौ । लिगको अन्तिम खेल बिमलले मछिन्द्रबाट खेल्छन्’’ क्लबका म्यानेजर अनिल श्रेष्ठले भने ।

‘‘विमलले लिगसँगै मोफसलका खेल समेत मछिन्द्रबाटै खेल्नेछन् ।’’ बैशाखमा हुने राष्ट्रिय लिगलाई हेरेर बिमललाई क्लबमा आवद्ध गरिएको श्रेष्ठको भनाई छ । अग्रपंक्तिका मुख्य खेलाडी अभिषेक रिजाल माल्दिभ्सको लिग खेल्न हिडेपछि मछिन्द्र मुख्य पिलरको खोजीमा थियो ।

यही बेला करिब तीन महिनाको निलम्बनबाट फुकुवा हुने संघारमा रहेका विमललाई मछिन्द्रले अनुबन्ध गरेको हो । विमलले माल्दिभ्सको टीसी स्पोर्ट्स क्लबबाट ब्यवसागिक लिग खेल्दै आएका छन् । कारबाहीमा परेपछि उनी नेपालमै छन् । उनले लिगको सुरुवातमा न्युरोड टिम एनआरटीमा रहेर अभ्यास गरे । पछिल्लो समय उनी मछिन्द्र क्लबका खेलाडीसंग अभ्यासमा देखिए ।

मछिन्द्रले फागुन ३ गते लिगको अन्तिम खेल खेल्दैछ । त्यही खेलबाट यो वर्षको शहीद स्मारक ‘ए डिभिजन’ लिग विजेताको टुङ्गो लाग्नेछ । विमलको अनुबन्धसँगै आर्मी दबाबमा आएको छ । आर्मी २९ अंक जोडेर लिगको शीर्ष स्थानमा छ भने मछिन्द्र २८ अंकसहित दोस्रो स्थानमा छ । -फाइल फाेटाे