काठमाडौं । सर्वोच्च अदालतमा बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय गरेका कारण पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउने आदेश माग गरी रिट परेको छ।

बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका हुन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवैलाई नीतिगत निर्णय मात्रै गरेको भन्दै मुद्दा नचलाउने निर्णय व्याख्या गरेको छ ।

‘‘अख्तियारले नीतिगत निर्णय गरेको भन्दै उनीहरूलाई उन्मुक्ति दिएको छ। तर त्यो नीतिगत निर्णय होइन कानुन विपरीतको निर्णय हो त्यसैले ललिता निवासको जग्गा व्यक्तिका नाममा पुर्‍याउन निर्णय गर्ने दुवै मन्त्रीमण्डलमा संलग्न सबैलाई मुद्दा चलाउन आदेश माग्दै मैले रिट हालेको छु, पेश गरेको तीन दिनका दिन आज दर्ता भयो’’ अधिवक्ता नेउपानेले भनेका छन् । सर्वोच्चले रिटको पेशी शुक्रवारलाई तोकेको छ।

ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालिन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाएको अख्तियारले किन उनीहरूलाई छुट दियो भन्ने प्रश्न उठिरहेका बेला वरिष्ठ अधिवक्ता नेउपानेले सर्वोच्चमा रिट हालेका हुन्। नीतिगत निर्णय गरेकाले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन नसकेको अख्तियारको तर्क छ।