काठमाडौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा यो वर्षमात्रै नभई अघिल्ला वर्षमा समेत यस्तै मौसमी फ्लू देखिने गरेको पाइएको छ । केहीदिनदेखि फैलिएको मौसमी फ्लू ‘कोराना भाइरससँग मिल्दोजुल्दो’भएको भन्दै जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेपछि यो विषयले सर्वत्र चासो निम्तिएको छ ।

यस्तो संक्रमण अघिल्ला वर्षहरूमा समेत हुने गरेको स्थानीय शिक्षिका सम्झना तामाङले बताइन् । उनी विगत चार वर्षदेखि जुगल गाउँपालिका–३ गुम्बाको क्यावरुङथाङ आधारभूत विद्यालयमा कार्यरत छन् ।

चीनसँग जोडिएको जिल्ला भएकाले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भनिएपनि अघिल्ला वर्षहरूको माघ फागुनमा रुघाखोकी तथा फ्लूजन्य संक्रमण देखिने गरेको, यो पल्ट भने विद्यालयमा पढ्ने स–साना बालबालिका समेत उल्लेख्य संख्यामा संक्रमित भएको देखिएको छ ।

उनी कार्यरत क्यावरुङथाङ आधारभूत विद्यालयमा समेत एक सयभन्दा धेरै विद्यार्थी संक्रमित देखिएका छन् ‘अधिकांशमा रुघाखोकी,ज्वरो र केही विद्यार्थीले बान्ता समेत गर्ने गरेका छन्, हाम्रो विद्यालयमा तीन सय विद्यार्थी रहेकोमा एक सयभन्दा धेरैलाई यस्तो लक्षण देखिएको छ’ अर्की शिक्षिका सम्झना न्यौपानेले भनिन् ।

गाउँपालिकाले गुम्बा डाँडामै स्वास्थ्य शिविर सञ्चालन गरेपछि आफूहरूले हरेक कक्षाका विद्यार्थीको नाम टिपेर स्वास्थ्य शिविरमा लगेको उनले जानकारी दिइन् । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले फ्लूको संक्रमण एकैपटक देखिएपछि माथिल्लो निकायलाई जानकारी गराइएको बताए । उनी बुधवार विहानै विशेषज्ञ चिकित्सकको टोली लिएर संक्रमित क्षेत्रमा पुगेका छन् ।

जुगन गाउँपालिका र चीनसँगको सिमानानै जुगल हिमाल र अर्कोतर्फ घना जंगल भएकाले सो ठाँउमा चीनबाट मानिस आउने र नेपालबाट जाने संम्भावना निक्कै कम रहेको स्थानीय दीर्घराज श्रेष्ठले बताए । संक्रमण फैलिएको क्षेत्र उच्च भागमा समेत घना बस्ती भएको र व्यक्तिगत सफाइमा ध्यान नदिने क्षेत्रमा पर्ने गरेको छ । त्यो भेगमा माघ फागुनमा रहेक वर्ष यस्तै खालको फ्लूजन्य संक्रमण फैलिने गरेको पाइएको छ ।