लमजुङ । चीनमा फैलिएको कोरोना भाइरसका कारण लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण कार्य बन्द भएको छ । आयोजनामा कार्यरत चिनियाँ सुपरभाइजर तथा इन्जिनियर प्राविधिक चीनबाट आउन नसक्दा निर्माणकार्य ठप्प भएको आयोजनाले जनाएको छ ।

जनवरी पहिलो साता नयाँ बर्ष मनाउन चीन गएका उनीहरु चीनमा फैलिएको कोरोना भाइरसका कारण नेपाल आउन सकेका छैनन् । चीनले आफ्ना नागरिकलाई देश वाहिर जान कडाइ गरे पछि यसको असर जलविद्युत निर्माणमा देखिएको आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाले बताए ।

उनका अनुसार निर्माण कम्पनीका मुख्य व्यक्तिसहितका प्राविधिक गरी आयोजनामा ६१ जना कार्यरत चिनियाँ कार्यरत छन् । यी मध्ये चार जना चीन गएका थिएनन् । अरु ५७ जना चीन गएकोमा दुई जना मात्रै फर्किन भ्याएको र ५५ जना चीनमै रोकिएको गड्तौलाले बताए
। ‘‘उहाँहरु कस्तो अवस्थामा छ भन्ने जानकारी नै भएन । फोन गर्दा भाषा बुझिँदैन’’ उनले भने, ‘‘हामीले इमेलमार्फत उहाँहरुको अवस्था बारे बुझ्यौं । चीनले अन्य देशमा नजान भनेपछि उहाँहरु रोकिनुभएको रैछ ।’’

मस्र्याङदी गाउँपालिका ६ र ७ बीच भएर बग्ने ङादीखोलामा नर्माणधीन जलविद्युत आयोजनाको काम एक महिनादेखि ठप्प रहेको आयोजनाका जनसम्पर्क अधिकृत बिजय गुरुङले बताए । उनका अनुसार जनवरी २५ मा उनीहरुको मुख्य चाड हुन्छ । त्यही चाड मनाउन उनीहरु घर गएका हुन् । फेब्रुअरी ४ देखि ६ तारिखसम्म आउनुपर्नेमा उनीहरु नआएको गुरुङले बताए । चिनियाँ विदामा गए पछि नेपालीले काम गर्न नसक्ने भएकाले उनीहरुलाई पनि विदा दिइएको उनले बताए । अगुवाई नै नभएपछि नेपाली कामदारले काम गर्न नसक्ने गुरुङले सुनाए । उनका अनुसार आयोजनाको ८५ प्रतिशत काम सकिएको छ ।

प्रसारण लाइनको काम नेपाली ठेकेदारले लिएकाले काम भइरहेको छ । अन्य काम भने हुन सकेको छैन । आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ । पावरहाउसको काम सकिएको र मेशीन जडान गर्न बाँकी रहेको उनले बताए । बाँधको काम अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको निर्माण कार्य चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेड गरिरहेको छ । उनीहरुकै अगुवाई र सुपरभिजनमा नेपाली कामदारले काम गरिरहेका छन् ।