काठमाडौं । विभागीय टोली नेपाल पुलिसले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा सहज जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिवार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले हराएको हो ।

पुलिसको जितमा जुमनु राईले ह्याट्रिक गरे । यो जितसँगै पुलिसले शीर्ष ६ मा ठाउँ पक्का गरेको छ ।

शीर्ष ६ मा ठाउँ पक्का गरेसँगै पुलिसले अब राष्ट्रिय लिगमा पाइला राखेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको पुलिसले दोस्रो हाफमा भने तीन गोल हान्यो ।

जसमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जुमनु नायक बने ।

फ्रेन्ड्सविरुद्ध ह्याट्रिक गरेसँगै जुमनु यो सिजनको लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने ।

यस्तै, पुलिस १३ खेलमा २० अंक जोड्दै पाँचौं स्थानमा छ । फ्रेन्ड्स भने १३ खेलमा १४ अंक जोडेर दशौँ स्थानमा रह्यो ।