काठमाडौं । झापाको बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै सञ्चालक दुर्गा प्रसाईंले निवेदन दिएका छन् । बिहीवार चिकित्सा शिक्षा आयोग पुगेर प्रसाईंले सम्बन्धन प्रक्रियाका लागि निवेदन दर्ता गरेका हुन्।

मेडिकल कलेज सञ्चालक प्रसाईंका अनुसार सम्बन्धन माग्दै दिएको निवेदन आयोगले दर्ता गरेको छ। यसअघि रितपूर्वक नआएको भन्दै उनको निवेदन आयोगले दर्ता गरेको थिएन । ‘निवेदन दर्ता गरेको छु। अब सम्बन्धनको प्रक्रिया सुरू भयो,’ प्रसाईंले भनेका छन्।

चिकित्सा शिक्षा ऐनमै राजधानीबाहिर आशयपत्र पाएका मेडिकल कलेजलाई सम्बन्धन दिन सकिने उल्लेख गरिएको छ। राजधानीबाहिर आशयपत्र पाएर सम्बन्धन कुरिरहेको बिएण्डसी एक मात्र मेडिकल कलेज हो।

आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले बिएण्डसीबाट निवेदन आएको बताएका छन् । उनले भने, ‘निवेदन परेको छ। हामी अध्ययन गर्दैछौं ।’ यसअघि प्रसाईँको निवेदन लिन नमानेपछि उनले गिरीलाई २० करोड घुस मागेको आरोप लगाएका थिए । उनले सार्वजनिक रुपमै आरोप लगाएर आफ्नो चरित्र हत्या गरेको भन्दै गिरी उजुर गर्न पुगे । गिरीको उजुरीले प्रसाईलाई पक्राउ गर्न पुर्जी जारी भयो । र, त्यही बेलादेखि भागि हिँडेका प्रसाईं बिहीवार भक्तपुर जिल्ला प्रशासनमा हाजिर भएर तारेखमा छुटे ।

झापाको बिएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुर उपस्थित भएर तारेखमा छुटेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताईन् । प्रसाईंविरूद्ध गएको माघ २ गते भक्तपुर प्रशासनले पक्राउ पुर्जी जारी गरेपछि प्रसाईं सम्पर्कविहीन थिए। पक्राउ पुर्जीपछि उनी भारततिर भागेको बताइए पनि केही दिन पहिले नेकपा अध्यक्ष प्रचण्डको निवासमा देखिएका थिए । प्रसाईंले आयोगका अध्यक्षले घुस मागेको भनेर पत्रकार सम्मेलन गरेपछि प्रचण्ड रिसाएको र बेसरी झपारेको प्रचण्ड निकटस्थहरुले बताएका छन् । पूर्व माओवादी पंक्ति निकट प्रसाईं आफ्नो निवास छिरेकै बेला प्रचण्डले झपारेका हुन् । प्रचण्ड रिसाएपछि प्रसाईँ साइजमा आएका बताइएको छ ।