काठमाडौ‌। भारतको गोरखपुरदेखि रुपन्देहीसम्म ग्यास पाइपलाइन विस्तार गर्ने गृहकार्य अघि बढेको छ । रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अघि बढेको हो । ल्याइने ग्यास प्राकृतिक अर्थात् लिक्युफाइड नेचुरल ग्यास हुनेछ ।

भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूहकोे बैठकमा गोरखपुरदेखि रुपन्देहीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे दुई मुलुकबीच छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा नेपाल–भारत पेट्रोलियम तथा ग्यासका लागि दुईदेशीय कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकमा नेपालले गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन बिच्छयाइदिन भारतसामु प्रस्ताव गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा सो दुईदेशीय बैठकमा नेपाल पक्षको नेतृत्व गरेका ध्रुव घिमिरेले यो कार्य अघि बढाउन भारतले नेपालसँग ‘माग प्रक्षेपण’ गरेको र त्यसको तयारी अहिले मन्त्रालयले गरिरहेको जानकारी दिए । ‘माग प्रक्षेपण’का साथै नेपालमा प्राकृतिक ग्यास बजारको सम्भावित अवस्था र भविष्यबारे समेत भारत नेपालसँग स्पष्ट हुन खोजेको सहसचिव घिमिरेले बताए ।

‘भारतीय पक्षको मागअनुसार अहिले मन्त्रालयले भविष्यमा मुलुकलाई आवश्यक पर्नसक्ने प्राकृतिक ग्यासको आवश्यकता र मागको विवरण सङ्कलन गरिरहेको छ । सङ्कलन र अध्ययन कार्य सम्पन्न भइसकेपछि भारतीय पक्षलाई ‘माग प्रक्षेपण’ बुझाइने छ”, उनले भने, ‘माग प्रक्षेपण बुझाइसकेपछि प्रस्तावित पाइपलाइन निर्माणको मोडालिटी, लागतबारे अध्ययन गरी निर्माण अगाडि बढाइने छ ।’

विगत लामो समयदेखि नेपालमा रासायनिक मलको कारखाना स्थापना गर्ने कुरा उठे पनि काम हुन सकेको छैन । रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्डले समेत अहिले अध्ययन गरिरहेको छ । रासायनिक मल उत्पादन गर्न ‘कच्चा पदार्थ’का रूपमा प्राकृतिक ग्यास अनिवार्य चाहिन्छ ।

नेपालजस्तो कृषिप्रधान मुलुकमा अहिलेसम्म रासायनिक मल कारखाना स्थापना हुन सकेको छैन । प्राकृतिक ग्यासले रासायनिक मल उत्पादनका साथै खानासमेत पकाउन सकिन्छ तर त्यसका लागि एलपी ग्यासजस्तो सिलिन्डरमा बोटलिङ गर्न मिल्दैन, भान्साघरसम्म सीधै पाइपलाइन ल्याउनुपर्छ । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले यो विषयमा दुई मुलुकबीच गृहकार्य अगाडि बढाइएको जानकारी दिए । अहिले खाना पकाउने एलपी ग्यास भारतबाटै आइरहेको छ । र, ग्यासको भाउ बढेको बढ्यै छ ।

यसअघि भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको बैठकमा समेत नेपाल–भारत अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे अध्ययन गर्न दुई मुलुकबीच सहमति भएको जानकारी उनले दिए ।