काठमाडौं । कोरोना भाइरसको संक्रमण रहेको आशंकामा अस्पताल भर्ना भएका तीन जना नेपालीमा भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । बुधबार भर्ना भएका तीनैजनाको स्वास्थ्य परीक्षणमा भाइरसको कुनै लक्षण नदेखिएपछि तीनैजना घर फर्किएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले स्वास्थ्य परीक्षणमा सकारात्मक आएपछि तीनैजना बिहिबार नै घर फर्केको जानकारी दिए । चीनबाट फर्केका तीनैजनामा कोरोना भाइरसको संक्रमण रहेको आशंकामा अस्पताल भर्ना गरिएको थियो ।

निर्देशक डा. पाण्डेले नेपालमा कोरोना भाइरसको संक्रमण रहेको आशंकामा हालसम्म १८ जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए । एकजना चिनियाँ नागरिकको स्वास्थ्य प्रतिवेदनमा भाइरसको संक्रमण रहेको पुष्टि भएपनि अन्यमा नभएको अस्पतालले जनाएको छ ।

संक्रमित निको भएपछि ‘डिस्चार्ज’
भाइरसको संक्रमण देखिएको चिनियाँ नागरिक समेत निको भएर डिस्चार्ज भइसकेको शुक्रराज ट्रपिकल अस्पतालले जनाएको छ । अस्पतालमा ‘थ्रोट स्वाब’को नमूना दिएर घर फर्केका चिनियाँ नागरिकको स्वास्थ्य प्रतिवेदनमा कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि उनलाई अस्पतालले आइसोलेशन वार्डमा राखेको थियो । अस्पताल बसाईको दुई सातापछि पुनः स्वास्थ्य परीक्षण गर्दा संक्रमण नरहेको फेला परेपछि उनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम ‘डिस्चार्ज’ गरिएको डा। पाण्डेले बताए ।