काठमाडौं । मुलुकमा पहिलोपटक उपकुलपतिको सट्टा अध्यक्ष रहने व्यवस्था सहितको विश्वविद्यालय खुल्न लागेको छ । विश्वविद्यालय स्थापनाको लागि सरकारले ऐनको मस्यौदा संघीय संसदमा पेश गरिसकेको छ ।

उपकुलपति नरहने गरी ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय’ खुल्न लागेको हो । यो विश्वविद्यालय हाल सञ्चालनमा रहेकाभन्दा भिन्न संरचनाबाट सञ्चालन हुनेछ । सभाको काम विश्वविद्यालयको संरक्षक समितिले गर्नेछ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलका अनुसार यो विश्वविद्यालयले सम्बन्धन दिन पाउनेछैन ।

‘यो सार्वजनिक विश्वविद्यालय हो । तर यसमा लगानी र उपलब्धि विश्वविद्यालयको क्षमताम भरपर्छ’, पोखरेलले भने, ‘यहाँ स्थायी प्राध्यापक रहँदैनन् । योग्य प्राध्यापकलाई नियुक्ति दिइनेछ । स्वदेशभित्र उपलब्ध नभए विदेशबाट पनि ल्याइन्छ ।’

विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक पर्ने उच्चतम जनशक्ति उत्पादन गर्ने, नविन खोज गर्ने उद्देश्य विश्वविद्यालयको छ । तर विज्ञान तथा प्रविधि विश्वविद्यालय भनिए पनि यहाँ कानुन तथा न्याय, व्यवस्थापन, सामाजिक शास्त्र लगायतका सङ्कायको पनि पढाइ हुनेछ । दुई वर्षभित्रमा पढाइ सञ्चालन गर्ने गरी विश्वविद्यालय स्थापना प्रक्रिया सुरु गर्ने लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ ।