काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उपाधि पहिलोपटक मच्छिन्द्र युथ क्लबले जितेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै मच्छिन्द्रले लिगको उपाधि जितेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न खेलमा मच्छिन्द्रले जित्नैपर्ने बाध्यताको दबाबका बीच त्रिभुवन आर्मीमाथि जित हात पार्न सफल भयो । मच्छिन्द्र यसअघि लिगको २०७० को संस्करणमा उपाधिको होडसम्म पुगेपनि उसको पहिलोपटक उपाधि जित्ने सपना पुरा हुन सकेको थिएन ।

मच्छिन्द्रको जितमा रञ्जित धिमालको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको पहिलो हाफको ३३ औं मिनेटमा गोल गरे ।

खेलको ७१ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा देवेन्द्र तामाङले गरेको प्रहार अफसाइड हुन पुगेको थियो । त्यसअघि ६१ औं मिनेटमा टङ्क बस्नेतको क्रसलाई हेडमार्फत् गोलपोष्टको दिशा दिदा मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ उत्कृष्ट बचाब गर्दै त्रिभुवन आर्मीलाई बराबरीबाट रोके ।

८६ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले मैदानको बीच भागबाट एकल प्रयासमा गोलपोष्ट नजिकसम्म डोर्याएपनि मच्छिन्द्रका पिटर सेगुइनले बल खोस्दै अन्तिम प्रहार गर्नबाट रोके ।

इन्ज्युरी समयको पाँच मिनेट समय थपिदा आर्मीले गोलको आक्रामक प्रयासहरु गरेपनि मच्छिन्द्रको रक्षात्मक पद्धतीले आर्मीको चाहना पुरा हुन दिएन । त्रिभुवन आर्मीले मच्छिन्द्रलाई बराबरीमा मात्रै रोक्न सकेको भए उपाधि उचाल्न सफल हुन्थ्यो ।