काठमाडौँ । चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान प्रस्थान गरेको छ । शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि उडेको हो ।

कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एक/एक जना इन्जिनियर र लोडमास्टर छन् ।

चीनस्थित नेपाली दूतावासले हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ ।

नेपाल उड्नुअघि वुहानमा पनि सबैको स्वास्थ्य परीक्षण गरिनेछ । परीक्षणको क्रममा कसैलाई कोरोनाभाइरको लक्षण देखिएको उतै क्वारेन्टाइनमा राखिनेछ ।

नेपालीलाई वुहानबाट उद्दार गरेर काठमाडौं ओरालेपछि सिधैं क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा लगिनेछ । जहाजमा रहेका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राखिनेछ ।