काठमाडौं । बलात्कार अभियोग लागेर एक सय १३३ दिन थुनिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई संसद जाने बाटो खुलेको छ। सभामुख अग्नि सापकोटाले महरा थुनामुक्त भएको जानकारी प्रतिनिधि सभा बैठकमा दिएसँगै महरालाई संसदको ढोका खुलेको हो।

बलात्कार अभियोग लागेपछि पुर्पक्षका लागि कारागार चलान भएसँगै उनको सांसदको हैसियत खोसिएको थियो भने उनको सेवा सुविधा पनि रोकिएको थियो। महराले सोमबार काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा सफाइ पाए । महरालाई थुनामुक्त गर्न अदालतले सोमबार नै कारागारलाई पत्र पठायो।

महराले सफाइ पाएको व्यहोरासहितको पत्र संसद सचिवालयमा पेश गरे । त्यही पत्रका आधारमा उनको सांसदको हैसियत पुर्नवहाली भएको हो । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकमा महरा थुनामुक्त भएको व्यहोरा जानकारी गराए ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा महरा थुनामा परे । अभियोग लाग्नासाथ महराले सभामुख पदबाट राजीनामा दिएका थिए । तर सांसद पदबाट राजीनामा दिएका थिएनन्। महराको निलम्बन हटेसँगै उनी अब संसद बैठकमा सहभागि हुन पाउने छन्।

महरा पूर्व सभामुखको हैसियतमा प्रतिनिधि सभाको पहिलो लहरमा बस्न पाउनेछन्। उनी दाङबाट निर्वाचित नेकपा सांसद हुन्। उनी थुनामुक्त हुनासाथ उनको रोल्पामा रहेको उनको गाउँ र निर्वाचन क्षेत्र दाङमा सोमबार बाजागाजासहित खुसीयाली मनाइएको बताइएको छ ।