काठमाडौं । अहिलेसम्म वैदेशिक रोजगारीमा जाने महिलामध्ये राजधानी काठमाडौं र आसपासका जिल्लाका धेरै रहेको तथ्याङ्कले देखिएको छ । बागमती प्रदेशको काठमाडौं र वरिपरिका ६ जिल्लाबाट मात्रै ५१ प्रतिशत महिला वैदेशिक रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

अहिलेसम्म संस्थागत रुपमा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जाने एक लाख ३२ हजार ९९५ जना महिलामध्ये काठमाडौं, सिन्धुपाल्चोक, मकवानपुर, काभ्रे, नुवाकोट र चितवनबाट ६७ हजार ९६८ जना रहेका छन् । यी जिल्लाहरुमध्ये सिन्धुपाल्चोकका सबैभन्दा धेरै १८ हजार पाँच सय जना रहेका छन् ।

त्यस्तै काठमाडौंका १२ हजार ४१९, मकवानपुरका ११ हजार ३७४, काभ्रेपलाञ्चोकका नौ हजार ६३०, नुवाकोटका आठ हजार ३०१ र चितवनका सात हजार ७४४ जना छन् । बागमती प्रदेश पछि दोश्रोमा प्रदेश–१ बाट विदेश जाने महिला धेरै छन् । तथ्यांक अनुसार प्रदेश–१ को झापा र ईलामबाट मात्रै २२ दशमलव ७९ प्रतिशत महिला रोजगारीका लागि विदेश गएका छन् ।

महिला रोजगारीका लागि विदेश जाने प्रदेश मध्ये तेश्रोमा प्रदेश–२ छ । जहाँको मोरङ्ग र सुनसरीबाट मात्रै १८ दशमलव ३७ प्रतिशत महिला कामका लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभाग कार्यालयका काठमाडौँका पूर्व प्रमुख मधुविलास पण्डित काठमाडौं वरिपरिका जिल्लाबाट महिला विदेश जान खोज्नुमा प्रमुख कारणमा राजधानी नजिक हुन पनि एक भएको बताए ।

काठमाडौं नजिकको जिल्लामा दलालको विगविगी भएको बताउँदै परिवार र जाने महिलालाई राम्रो कमाई हुने आश्वासन दिएर प्रभाव पार्ने गरेको उनको भनाइ छ । सरकारले महिला कामदार विदेश जान कडाई गरे सँगै अवैधानिक रुपमा दलालले भारत, श्रीलङकाको बाटो हुँदै तेश्रो मुलुक लैजाने गरेको पण्डित बताए ।

अबैधानिक रुपमा विदेश गएका कामदारको अवस्था डरलाग्दो भएको र कम्पनीको काममा भनेर लैजाने गरे पनि घरेलुकाममा दलालले लगाउने पण्डित बताए । सरकारले अवैधानिक रुपमा जाने कामदार रोक्न श्रम सम्झौता गरेर कानुनी रुपमा जाने बाटो बनाउन जरुरी रहेको उनले बताए ।