काठमाडौँ । शिवरात्रिको अघिल्लो दिनबाट बागमतिमा सफा पानी बग्ने भएको छ । गुहेश्वरीस्थित प्रशोधन केन्द्रबाट प्रशोधित भएको पानी बागमतीमा बगाइने भएको छ ।

काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना कार्यान्वयन निर्देशनालयका इन्जिनियर किशोर पन्थीका अनुसार प्रशोधित सफा पानी बगाउनेगरी सबै तयारी पूरा भएकोले बिहीबारदेखि प्रशोधन गरिएको पानी छाडिनेछ ।

प्रशोधित पानी एउटा टनेलबाट सिधै तिलगंगामा र अर्को गुहेश्वरी क्षेत्रको भागमा खसालिने छ । पन्थीले बिहीबारदेखि पशुपति क्षेत्रबाट गुहेश्वरीसम्मको नदीको भागमा पानीको शुद्धतामा फरकपन आउने दाबी गरे ।

‘पशुपति क्षेत्रको भागलाई पनि अलि सफा गर्न पाएको भए अझ राम्रो हुन्थ्यो। तर शिवरात्रि अगाडि नै काम सक्ने भनेपछि सबै कुरा हतारमा भयो,’ उनले भने ।

गुहेश्वरीमा १ करोड ६२ लाख लिटर क्षमताको दुईटा प्रशोधन केन्द्र छन् । दुबै केन्द्र सञ्चालनमा आएपछि नदीमा ३ सय ७५ लिटर प्रतिसेकेन्ड पानी बग्छ । यसको अर्थ नदीमा पानीको गहिराइ पैतालाभन्दा माथि र घुँडाभन्दा तल हुने उनले बताए ।

काठमाडौं उपत्यकाका ढलहरू सिधै नदीमा मिसिन नदिने र प्रशोधनपछि मात्र छोड्ने भनेर प्रशोधन केन्द्र निर्माण भइरहेको हो । गुहेश्वरी प्रशोधन केन्द्रले गोकर्णदेखि तल र गौशालादेखि माथिका क्षेत्रको ढल समेट्छ ।

प्रशोधन केन्द्र निर्माणको ठेक्का पाएको अष्ट्रियन कम्पनी ‘भिएटेक’ले २०७३ साउनबाट काम सुरू गरेको थियो । साढे दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा ढिलासुस्तीका कारण काम नसकिएपछि डेढ वर्ष म्याद थपिएको थियो ।

प्रशोधन केन्द्रको औपचारिक उद्घाटन कार्यक्रम भने सरेको छ । अब ग्यासबाट बिजुली र मल निकाल्ने प्रकृया पनि सुरु भएपछि उद्घाटन गरिने पन्थीले जानकारी दिए ।

गुहेश्वरीजस्तै भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी र धोबीघाटमा पनि प्रशोधन केन्द्र बनिरहेको छ ।