काठमाडौं । राष्ट्रिय कुखुरा पालक संघर्ष समितिले कुखुराको चल्ला र दानामा अत्याधिक मूल्य वृद्धि भएको भन्दै मूल्य घटाउन आग्रह गरेको छ । संघर्ष समितिले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई मूल्य घटाउन भनेर ज्ञापनपत्र बुझाएको हो ।

तीन दशक भन्दा लामो इतिहास बोकेको कुखुरा पालन व्यवसाय दिन प्रतिदिन विचौलियाको चंगुलमा परेका कारण किसान मारमा परेको संघर्ष समितिले बताएको छ । मासु र अण्डामा रात्मनिर्भर बनाउने उद्घोष गरेकै सरकारले उचित नदिदाँ चल्ला र दानामा कालो बजारी भएको संघर्ष समितिका संयोजक विष्णु खड्का बताउँछन् ।

चल्लाको मूल्य ह्याचरी व्यवसायीले चल्लाको दाना तोक्न पाउँछ भने मासुकोे मूल्य आफूले तोक्न पाउनुपर्ने माग गरेको छ । कुखुरा किसानको समस्या बारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए पनि सुनुवाई भनएको संयोजक खड्काले गुनासो गरे । यस्तै, दाना उद्योग संघका अध्यक्ष रविन पुरी संघर्ष समितिले लगाएको आरोपमा सहमत हुन सकिन्न भन्छन् ।

अध्यक्ष पुरीले अहिले बजारमा दानाको मूल्य बढेको नभई प्रतिबोरा एक सय रुपैयाँ घटेको जानकारी दिए । संघर्ष समिति बनाएर दानाको मूल्य बढ्यो, कालोबजारी भयो भन्नेहरु किसान मात्र नभई केही कोल्ड स्टोर व्यापारी भएको उनको आरोप छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सहायक सूचना अधिकारी दिपक पोखरेल दानाको मूल्य के छ भनेर आफुहरु बुझिरहेको जानकारी दिए । चल्लाको मूल्य केही दिनअघि प्रतिवटा ३५ रुपैयाँ भएको र अहिले ७० रुपैयाँसम्म बेचेको पाइएको बताए ।

चल्लाको मूल्य किन बढ्यो भन्दा चल्ला व्यवसायीलाई सोध्दा पुरानो मूल्यमा बेच्दा लागत नउठने प्रतिक्रिया दिने गरेको पोखरेल बताउँछन् । विभागले चल्लाको मूल्य वृद्धिको विषयमा सरोकारवाला निकायसँग छलफल गर्न बोलाएको जानकारी दिँदै विस्तृत कारण पत्ता लगाउने उनको भनाइ छ ।