काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणको अडियोबारे कुराकानी भएको स्रोतले बताएको छ ।

ओली र प्रचण्डबीच ‘मन्त्री बास्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने’ कुराकानी भएको बालुवाटार स्रोतले बतायो । साथै पार्टीको प्रशिक्षण अभियान लगायतका विषयमा पनि कुराकानी भएको स्रोतले बतायो ।

मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको छ ।