चरिकोट । सुप्रशिद्ध दोलखाको भीमेश्वर मन्दिरको शीलामा १७ औं पटक ‘पसिना’ आएको छ । बिहीबार बिहान ६ बजेर २८ मिनेटदेखि भीमेश्वरलाई ‘पसिना’ आएको भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए ।

भीमेश्वरलाई ‘पसिना’ आउँदा देशमा अत्यन्त अनिष्ट वा शुभ हुन्छ भन्ने धार्मिक मान्यता रहि आएको उनको भनाइ छ। पसिना आएपछि राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिले भीमेश्वर मन्दिरमा क्षमापुजा पठाउने चलन रहेको भीमेश्वर नगरपालिका(२ का वडाध्यक्ष विराज श्रेष्ठले बताए ।

यस अगाडि २०७४ सालमा भीमेश्वरलाई ‘पसिना’ आएको थियो । शीलामा ‘पसिना’ आएपछि मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ । शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्नुलाई भीमेश्वलाई पसिना आएको भन्ने गरिन्छ ।

भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा ‘पसिना’ आएपछि अनिष्ट टार्न राष्ट्रप्रमुखले क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा सामग्री पठाएकी थिइन् ।