गोरखा । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा मकैको धुमधामले विवाह भएको छ । उब्जनी सप्रियोस् भनी लाप्राकबासीले मकैको विवाह गरिदिएका हुन् । मकैको उब्जनी राम्रो होस्, असिना, रोग नलागोस् भनेर उहिल्यैदेखि लाप्राकमा मकैको विहे गर्ने चलन छ । मकैको विवाह गर्न लागेको सय वर्ष नाघेको छ ।

ज्योतिषीले हेरेको साइतमै बिहीवार मकैको विधिवत विवाह गरियो । ‘यो पूरानै परम्परा हो, यसरी मकैको विहे गरेपछि बल्ल मकै लगाउन सुरु हुन्छ’, स्थानीय उम्नी गुरुङले भनिन्, ‘विहे नगरी मकै लगाउँदा अशुभ हुन्छ भन्ने मान्यता छ ।’ मकेको विहे वोन संस्कृतिमा आधारित रहेको वडाअध्यक्ष राज गुरुङले जानकारी दिए । उनले भने, ‘यो एउटा प्राकृतिक पूजा हो, बर्सेनि १५ माघदेखि १५ फागुनसम्म एक दिन साइत जुराएर पूजा हुन्छ ।’ मकै विहे धर्ती पूजाकै एक रुप भएको उनले बताए ।

बेहुलासहित जन्तीहरु बेहूलीको घर पुगेपछि केहीबेर नाचगान चल्छ । जन्ती जाँदा आफ्नो घरबाट लगेको एक–एक घोगा मकै एकै ठाउँ थुपारिन्छ । त्यो मकैलाई सुनपानी, गोबर र तितेपातीले चोख्याउने चलन छ । मकै रोप्नुअघि बीउ चोख्याउन किराबाट बीउ जोगाउन, हिउँ र असिनापानीबाट जोगाउने पूजा गरिन्छ । साँझ घाटु नाचसँगै मकै विहे समापन हुन्छ ।