काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको किताब ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरेले शनिवार एक समारोहबीच प्रधानमन्त्रीको किताब विमोचन गरे । प्रधानमन्त्री ओलीले आफ्नो ६९औं जन्मदिनको अवसरमा यो किताव सार्वजनिक गरेका हुन् ।

दुई सय ४० पृष्ठको किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोण समावेश गरेका छन्। शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा किताब विमोचन कार्यक्रम गरिँदा प्रधानमन्त्रीका बुवा पनि उपस्थित भए ।

किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले कृषिजन्य उत्पादन बृद्धिका लागि सरकारले काम गरिरहेको बताए । उनले भने, ‘केमिकलजन्य झोलले मान्छे र देशको अर्थतन्त्र नै बिगार्ने गरेको छ, त्यस्तो कामलाई अहिले हतोत्साहित गरिएको छ ।’

काम गर्न सक्ने युवा शक्ति देशमा भएको भन्दै प्रधानमन्त्री ओलीले दृष्टिकोण र प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता भने चाहिएको बताए। ‘दुई ढुंगाबीचमा हामी छौं भने फैलिन नपाउँला तर यसलाई समृद्ध बनाए पुग्छ,’ प्रधानमन्त्री ओलीले भने।

‘छिमेकी देशसँग संतुलन राखिएको उनले बताए। ‘सूर्य, पृथ्वी र चन्द्रमा संतुलनमै घुमिरहेको छ । दुनियाँ संतुलनका साथ चलिरहेको छ। दुई छिमेकीसँग संतुलन सम्बन्ध राख्छौँ ।’